ताप्लेजुङका तीन पालिकामा अस्पतालको सिलान्यास

0
254

ताप्लेजुङमा सोमबार तीनआधारभूत अस्पताल भवनको सिलान्यास भएको छ । आठराई त्रिवेणी र सिरिजङ्घा गाउँपालिकामा १० तथा फक्ताङलुङ गाउँपालिकामा ५ शय्याको अस्पतालको सिलान्यास गरिएको हो ।
आठराई त्रिवेणीको हाङपाङमा बन्ने अस्पतालको प्रदेश एक संसदीय दलका उपनेता टंक आङवुहाङले सिलान्यास गरेको स्वास्थ्य शाखा संयोजक समिर प्रधानले जानकारी दिए । सिलान्यास कार्यक्रममा बोल्दै आङवुहाङ्ले दूरदराजमा स्वास्थ्य सेवा पु¥याउन सरकार लागिपरेको बताए ।
केन्द्र सरकारले १० शैय्याको अस्पतालका लागि १० करोड ८३ लाख ३६ हजार र ५ शय्याका लागि ७ करोड ११ लाख ९८ हजार रुपैयाँ विनियोजन गरेको छ । क्रमागत योजना अन्र्तगत बजेट आउने र दुई वर्षभित्र भवन निर्माण गरिसक्नुपर्ने सिरिजङ्घाका अध्यक्ष टिकाराम गुरुङले बताए ।
ताप्लेजुङका ६ पालिकाका लागि बजेट आएको भएपनि तीन वटाले सोमबार सिलान्यास गरेनन् । सिदिङ्वा, मिक्वाखोला र मैवाखोला गाउँपालिकाले सिलान्यास नगरेका हुन् । जग्गा उपलब्ध नभएकाले गर्न नसकिएको सिदिङ्वाका प्रमुख नरबहादुर कडरियाले बताए । ‘जग्गा प्राप्त गर्ने विषयमा विवाद भयो, त्यसैले आज गर्न सकिएन,’ उनले भने ‘मिलाएर चाँडै सिलान्यास गर्छौं ।’
मैवाखोलामा भने संघबाट आधिकारिक पत्र नआएका कारणले आज सिलान्यास हुन नसकेको वडा नं २ का वडाध्यक्ष सुरेन्द्र लिम्बुले बताए । यहाँ १५ शय्याको लागि बजेट छ । सिदिङ्वा र मिक्वाखोलामा ५ शय्याको बन्ने छन् ।
गत २८ कात्तिकमा नै जग्गा प्राप्तिको काम सक्न मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरे पनि कतपयले गर्न सकेनन् । ताप्लेजुङका नौ मध्ये तीन वटा पालिकामा अस्पताल निर्माणको बजेट आएन । केन्द्र सरकारले आफूहरुलाई विभेद गरेको मेरिङ्देन गाउँपालिकाका अध्यक्ष गणेश लिम्बुले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here