कोरोनाबाट मृत्यु,जाडोमा बढ्दैछ

0
154

कोरोना संक्रमितको मृत्युदरलाई विभिन्न माध्यम अपनाएर सकेसम्म कम गर्नु अहिलेको आवश्यकता हो। किनभने खोप उपलब्ध नभएसम्म यस्ता विकल्पहरू नै अपाउनु पर्ने हुन्छ। 

केही दिनयता मृत्यु भएकाहरूको उमेर समूह हेर्ने हो भने ६० वर्ष भन्दामाथिकाहरू नै बढी छन्। र, तीमध्ये अधिकांश दीर्घ रोग भएका छन्। हाल संक्रमितमा लक्षण नदेखिए वा सामान्य अवस्था देखिए ‘होम आइसोलेसन’ बस्न भनिएको छ। 

परिवारको कुनै सदस्यलाई संक्रमण देखिए संक्रमितलाई अलग्गै कोठामा राखिने गरिन्छ। यदि परिवारका वृद्धवृद्धा संक्रमित भए उनीहरू पनि छुट्टै बस्नुपर्ने हुन्छ। तर, त्यसरी छुट्टै बस्दा उनीहरूले परिवारका सदस्यलाई आफूले भोगेको समस्या तुरुन्त बताउँदैनन्। यही अवस्थाबाट परिवारका ज्येष्ठ सदस्य र अरू सदस्यबीच ‘कम्युनिकेसन ग्याप’ सुरू हुन्छ। 

कोरोना महामारीको सुरुवाती समयमा जो कोही संक्रमितलाई (लक्षणविहीन भए पनि) अस्पतालमा राख्ने गरिन्थ्यो।

अस्पतालमा रहँदा स्वस्थाकर्मीहरूको निगरानी हुने भएकाले जटिल अवस्था हुने सम्भावना कम अथवा भए पनि तुरून्त उपचार पाउने गर्थे। 

तर, संक्रमितहरूको संख्या बढ्दै जाँदा अस्पतालमा बेड अभाव हुँदा संक्रमितहरू सामान्य लक्षण हुँदा पनि घरमै बस्ने निर्देशिका बनाइयो। जसका कारण दुइटा समस्या निम्तिएको देखिन्छ। पहिलो संक्रमण पुष्टि भए पनि होम आइसोलेसनमा नबस्ने र दोस्रो भनेको परिवारबीच ‘कम्युनिकेसन ग्याप’। 

केही दिनअघि एक व्यक्ति अस्पताल परिसरमा आएर हातमा बोकेको पर्चा देखाउँदै रिपोर्ट हेरिदिन अनुरोध गरे। रिपोर्टमा कोरोना पोजेटिभ थियो। सामान्यत: पोजेटिभ व्यक्ति छिटोभन्दा छिटो अलग्गै कोठामा बस्न सकोस् भनेर रिपोर्ट एसएमएसमार्फत् पठाइने गरिन्छ। तर, उनी होम आइसोलेसनमा नबसी अस्पतालसम्म आइपुगेका थिए। 

घरबाट अस्पतालसम्म आइपुग्न उनी सार्वजनिकस्थल, बस हुँदै आएका थिए। यसरी संक्रमितहरू खुलेआम हिँड्दा होम आइसोलेसनको उद्देश्य पूरा हुँदैन। यसको मुख्य कारण भनेको सम्बन्धित निकायबाट कडा अनुगमन नहुनु नै हो। यसको विकल्प तत्काल नसोचिए संक्रमणको चक्र निरन्तर रहन सक्छ। उमेर हदको कारणले वृद्धवृद्धाहरू, परिवारका अन्य सदस्यसँग निरन्तर कुराकानीमा खासै रूची दिएको पाइँदैन। र, घरका सक्रिय सदस्य पनि आफ्ना व्यापार व्यवसाय, कार्यालय काम र व्यस्तताले गर्दा वृद्धवृद्धाको अवस्था बुझ्न खासै चासो दिएको पाइँदैन। 

केही दिनअगाडि एक मित्रले आफ्नो छिमेकीको बुवा कोरोना पुष्टि भएपछि छुट्टै कोठामा बसेको तर स्वासप्रश्वासमा एकाएक समस्या भएपछि मात्र थाहा हुँदा अस्पताल लैजान ढिलो भएका कारण मृत्यु भएको सुनाएका थिए। उनका अनुसार बुवाले संक्रमित हुँदाको अवस्थामा श्वासप्रश्वासमा समस्या नआएसम्म परिवारका सदस्यलाई कुनै जानकारी नगराएको र परिवारका सदस्यले पनि बुवाले समस्या भए पनि आफैं भनिहाल्नुहुन्छ भन्ने सोचेको देखिन्छ। यहीँ नै संक्रमित र अन्य सदस्यबीच ‘कम्युनिकेसन ग्याप’ भएको देखिन्छ। 

जाडो महिना सुरू भएलगत्तै कोरोनाको कारणले मृत्यु हुनेहरूको संख्या ह्वात्तै बढेको छ। अस्पतालमा पनि मृत्यु हुनेमा अधिकांश ६० वर्ष भन्दामाथिका छन्। मृत्युको संख्याले जाडो महिनाभरि यही गतिमा निरन्तरता पाउँछ वा मत्थर हुन्छ भनेर यकिनका साथ अहिले नै अनुमान गर्न सक्ने अवस्था छैन। 

जाडो महिनामा यसै पनि दीर्घरोगी तथा वृद्धहरूमा निमोनिया बढी हुने गर्दछ। सन् २०१९ मा काठमाडौंमा गरिएको एक अनुसन्धान लेखले अधिकांशमा निमोनिया गर्मीमा भन्दा जाडो मौसमा बढी हुने गरेको नतिजा देखाएको थियो। ती बिरामीहरूमा फ्लू तथा निमोनियाविरुद्धको खोप लगाइएको भने थिएन। 

कोरोना भाइरसको महामारी नभएको भए अहिले स्वस्थाकर्मीहरूले निमोनियाबाट विशेष गरेर दीर्घरोगी, वृद्धहरूलाई बच्न सचेत हुन आग्रह गरिरहेको हुन्थे होला। हाल होम आइसोलेसनमा बस्ने हजारौं सक्रमितहरूको प्रभावकारी अनुगमन हुनसकेको छैन र संक्रमितहरू घरबाहिर जथाभावी घुमिरहेका छन्। जसले गर्दा संक्रमणको तीव्रतालाई ब्रेक लगाउन ठूलो चुनौती खडा भएको छ। यसको मुख्य कारण शारीरिक कमजोरी, दीर्घरोगका साथसाथै पारिवारिक ‘कम्युनिकेसन ग्याप’ भइदिँदा अस्पताल पुर्‍याउन ढिला भई मृत्युवरण गर्नु परेका छन्। यस्तो अवस्थामा आइसियू/भेन्टिलेटर पनि सहयोगी भएको देखिँदैन। 

होम आइसोलेसनको विकल्प तत्काल नहुने र पाका उमेरका व्यक्ति नै सबैभन्दा बढी कोरोनाको जोखिममा हुने गर्दा परिवारका अरू सदस्यहरूले उहाँहरूको स्वास्थ्य समस्याबारे निरन्तर चासो, संवाद गर्दा मृत्युको संख्यालाई धेरै हदसम्म कम गर्न सकिन्छ।

(पुन क्लिनिकल रिसर्च युनिट शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर हुन्।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here