प्रधानमन्त्रीज्यू, ‘ओली युग’को मानवीय सपना यही हो?

0
50


किशोर खनाल
भदौ ६, धेरै नेपालीको मनमा मेरैजस्तो एकै प्रकारका ज्वारभाटा उम्लिरहेका छन्। तर, मरेको मन बोकेर बाँचेको विश्वास दिनुपरेको छ। परिवर्तनको खोजीमा संघर्ष र प्रयत्न गर्दागर्दै लखतरान र हतास भइसकेको यो मुलुकलाई राष्ट्रिय संकल्प र इमानदारीको नैतिक पूँजी लगाएर तपाईंले नयाँ जीवन दिनुहुनेछ भन्ने आम नेपालीले २०७४ मा व्यक्त गरेको जनादेश वा मतादेशप्रति अझै पनि जनतालाई मोह छ। र, तपाईंप्रतिको हिजोको नैसर्गिक भरोसा आज पनि आशाको रुपमा बाँचिरहेकै छ।

तपाईंले यसलाई आफूमाथि जनताले बिसाएको ऋणभार सम्झिनु हुन्छ कि भन्ने अपेक्षा छ। प्रजातान्त्रिक संघर्ष, आफ्नै रोगसँग संघर्ष, आफ्नै गरिबीसँग संघर्ष र आफ्नै टुहुरो बाल्यकालको संघर्षबाट हासिल भएको विगतको भोगाइ र आत्मशक्तिलाई अब मुलुक बनाउने ‘बाजी’ लगाउनमा तपाईं जति सक्षम हुनुहुन्छ, तपाईंको सार्थकता, गौरव र स्वर्णाक्षरयुक्त इतिहासमा सम्मानित स्थान त्यति नै फराकिलो बन्दै जान्छ।

अधिकांश नेपालीलाई हात–मुख जोर्न गाह्रो भएकोले आहाराको चिन्तामै हाम्रा बुद्धि–विवेकहरू रुमल्लिएका छन्। नष्ट भइरहेका छन्। समस्या र संकट आज देशको कुन क्षेत्रमा छ भन्ने प्रश्नको उत्तर दिएर साध्य छैन। बरु समस्या कहाँ छैन भनेर अपवाद खोज्न मजा लाग्दैछ। मुलुक जहाँ थिच्दा पनि पिप र रगतमात्र आउने सिकिस्त बिमारी अवस्थामा मृत्युसँग संघर्ष गरिरहेको छ। त्यसमाथि आफ्नै पार्टीका समकक्षी र सहकर्मीहरूले तपाईं बसेको ‘सतरञ्जा’ थुतेर लडाइदिने उचित मौका यसैलाई मानेर कोतपर्वको नयाँ संस्करण मच्चाइरहेको ‘खेदजनक’ दृश्य हामी देखिरहेका छौं।

तपाईंले पनि प्राप्त अवसरलाई राष्ट्रिय संकल्प, पद्धति, विचार र आचरणको रुपमा संस्थागत तथा संविधानको सर्वोच्चतालाई स्थापित गरौं भन्ने सत्प्रयास गरेको देखिएन। केवल आफैं शक्तिशाली बन्ने कमजोरी मात्र देखापरिरहेको छ। जो बेइमानी त होइन, गल्ती चाहिँ निश्चय नै हो। ‘हुकुमी’ हैसियतको प्रधानमन्त्रीभन्दा संस्थागत प्रणालीमा विराजमान कमजोर प्रधानमन्त्री नै सशक्त, निर्णायक र कालजयी हुन्छ। त्यसकारण प्राप्त लोकतन्त्रलाई तपाईंबाट संवैधानिक शासनको भरपर्दो पद्धतिको रुपमा विकसित बनाएको हामी हेर्न चाहन्छौं।

दुःखको पिँधमै पुगी मृत्युको अनुहार देखेर त्यसलाई परास्त गरेर आउनुभएको तथा अदम्य साहस, उत्साही मन, सकारात्मक सोच र आफ्नै नामको ‘ओली युग’ ल्याउँ भन्ने मानवीय ‘तमन्ना’ तपाईंभित्र अझै ताजै रहेको ठानेर हामी तपाईंको क्षमता र इच्छाशक्तिमाथि अझै सहज विश्वास गरिरहेका छौं। हाम्रो मानवोचित धोकोलाई तपाईंका क्रियाकलापले धोका नदिउन्। पानीले पखालेर क्यान्सर निको हुँदैन भनेजस्तै बिमारीले सिकिस्त मुलुकलाई तङ्ग्राउने उपायका क्रममा झारफुक, फलाको र सुम्सुम्याइका भाषणले हुँदै हुँदैन।

प्राकृतिक संकटलाई हामी नागरिकहरू सहन सक्छौं। तर, मानवनिर्मित संकट सहन र पचाउन सकिँदैन। मुलुक कोरोना महामारीको संकटबाट त्रसित छ, जसबाट मर्नेहरूको संख्या सवा सय पनि पुगेको छैन। तर, बाढीपहिरोबाट मर्नेको संख्या करिब दुई सय, आत्महत्या गर्नेको संख्या १८ सयभन्दा बढीजस्ता घटनाहरूले समस्याको स्रोत र केन्द्र कोरोना मात्र होइन, अन्यत्रै पनि प्रशस्तै भएको प्रष्ट हुन्छ।

दण्डहीनता, हिंसा, यातना र अत्यचारको कारण गैरन्यायिक हत्याको सिकार भएका नागरिकहरूको संख्या कहालीलाग्दो दरमा बढिरहेको छ। ज्यानमाराहरू अदालतकै आदेशमा सजायको बीचैमा रिहा हुन्छन्। जघन्य अपराधी र हत्याराहरू राजनीतिक अभयदानको कारण ‘फरार’ हुन पाएका छन्। यी सब हर्कत किन भइरहेका छन् प्रधानमन्त्रीज्यू? यसको मूल कारण र खल्तीमा समाधानको उपाय तपाईंसँग हुनुपर्छ भन्ने जनचाहना हो।

संवैधानिक अंगहरू राजनीतिक भागबण्डा र भर्तीकेन्द्र भइरहेका छन्। विश्वविद्यालयको दुर्दशाको बारेमा त स्वयम् प्राध्यापक तथा विद्यार्थी वर्गले प्रशस्तै आवाज उठाउँदै आएका छन्। विश्वविद्यालय र बौद्धिकता एक-आपसमा परिपुरक हुनु पर्नेमा कता-कता त्यो परिपुरकता हराउँदै गएको आभाष मिल्दछ। विश्वविद्यालयभित्रै बौद्धिकता, राजनीतिभित्र राजनीति,  न्यायालयभित्र न्याय, सुरक्षा संयन्त्रभित्र सुरक्षा, अनि मन्दिरबाट देउता हराउनु पक्कै पनि एउटा आदर्शले ओतप्रोत हुन खोज्ने बौद्धिक समाजको लागि स्वीकार्य हुँदैन र हुनु पनि हुँदैन।

देशको राजनीतिक तथा कर्मचारी संयन्त्रले सोचेजस्तो उच्चकोटीको कार्य सम्पादन गर्न सकेको छैन भन्ने व्यापक जन गुनासो सुनिन्छ, प्रत्येक दिन अखबारमा तथा सामाजिक सञ्जालमा पढ्न तथा सुन्न पाइन्छ। अर्कातिर सिंहदरबारको भ्रष्टाचार आज गाउँ र वडा तहसम्म नै पुगिसकेको तथ्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका २५ हजारभन्दा बढी उजुरीको चाङले छर्लङ्ग हुन्छ। ‘स्वतन्त्र न्यायालय’ आफ्नो साख र जनविश्वास गुमाएर अपराधीले ‘न्याय किन्न पाउने’ आशाकेन्द्र हुन थालेको छ। अनि कसरी सिंहदरबारको शासन सशक्त र प्रभावकारी हुनसक्छ?  

दुई तिहाइ समर्थनको सरकार भए पनि अनिर्णय र विवशताको बन्दीजस्तो, जनताले विजयको माला लगाइदिए तापनि पराजित मानसिकता, हतास र आत्मनाश अवस्था भोग्नुपरेको मूल कारण यही हो। भ्रष्टाचार, अपराध र दण्डहीनताले प्रश्रय पाएको कुनै पनि मुलुकले शान्ति–सुरक्षा, विकास, सुख–समृद्धि र अमनचयन पाएको छैन। त्यस्तो मुलुकको सर्वोच्च कार्यकारी पनि खराब परिस्थितिबाट ‘वशिभूत’ र ‘लाचार’ हुनपुग्छ।

सामान्य सत्कर्मबाट पनि जनताको आत्मीयता पाइनसक्ने साह्रै सजिला जनताको यो देशमा विकास, समृद्धि र सुखका अन्य काम छोडेर रेल र पानीजहाजमा फड्को हालिहाल्नु जनताको मन जित्ने सफलताका कार्यक्रम होइनन् प्रधानमन्त्रीज्यू! सबैलाई हातमुख जोर्ने, छोराछोरीलाई शिक्षादिक्षा दिने, बिमारी हुँदा देशभित्रै औषधीमुलो गर्न सकिने, निर्दोष र गरिखाने समुदायले असुरक्षित तथा त्रसित हुनुनपर्ने र अपराधी वा दोषीले उन्मुक्तिको कल्पनै गर्न नसक्ने परिपाटीको विकास हामीलाई चाहिएको हो। यही विकासको यात्राबाट आखिर हामी रेल र पानीजहाज चढ्ने हैसियतमा पुग्ने हो। तर, जनता तत्काल लाभान्वित हुने वा राहत पाउने सामान्य प्रयासको थालनी हुनुपर्छ।

प्रधानमन्त्रीज्यू, यति सानो मुलुकमा यतिधेरै उथलपुथल भइसक्यो कि हामी अझै पनि ‘लोहोरो पाक्ला र खाउँला’ (पूरा नहुने सपना) भन्ने नारा बेच्दै छौं। सत्ताका समर्थकहरूले देश सोमालिया, रुवान्डा त भएको छैन नि भन्दै हिँड्दछन्। अनि प्रतिपक्ष पनि परिस्थिति हेर्दै सुरताल मिलाउँदै कहिले रिसाउन त कहिले रमाउन व्यस्त छ। जनताको लागि त पक्ष अनि प्रतिपक्ष दुवै सत्ता नै हो। हुन सक्छ यहाँहरूको लागि फरक हो।

‘चुक घोप्ट्याए’जस्तो रात, करिब १० बजेको यो सन्नाटाका बीच म यी हरफ लेख्दैछु। तपाईंको पदीय सफलता र स्वास्थ्य स्थितिको उच्चतम् भलाइ घोलिएको मेरा भावना यी अक्षरले बोकेका छन्। मुलुकलाई शासकीय प्राथमिकताका आधारमा होइन, शासितका प्राथमिकताको आधारमा हाँक्नु प्रजातन्त्र हो। घोषणा नभए पनि मुलुक संकटग्रस्त छ। यस्तो बेलामा मुलुकको आकस्मिक उपचारको रुपमा जनताको प्राथमिकता र राहतका कार्यक्रम ल्याएर अनिवार्य रुपमा लागू गर्नु उचित हुनेछ।

त्यसकारण तल उल्लेखित कार्यक्रमका बुँदाहरू अनिवार्य रुपमा लागू गर्न म निष्पक्ष र विनम्र सल्लाह निवेदन गर्छु:

  • स्वास्थ्य संकटको घोषणा गर्ने। महामारीको पिसिआर परीक्षणलाई व्यापक र सर्वसुलभ बनाउने।
  • महामारी रोकथामका औषधी, उपकरण तथा अन्य सामग्रीको खरिदमा गुणस्तरहीन र भ्रष्टाचारपूर्ण काम भएको भन्ने व्याप्त जनगुनासो निवारण गर्न प्रधानमन्त्रीको विशेष निर्देशन-निगरानीमा आवश्यक कारबाही चलाउने।
  • निषेधको सूची बनाई विदेशबाट बिलासिताका सामग्री आयात गर्न पूर्णतः बन्द गर्ने।
  • सेनिटाइजरको आयातमा भन्सार लगाइनु, बोतल-जारको पानीमा अत्यधिक मूल्यबृद्धि हुनु, चक्लेटको आयातमा भन्सार सहुलियत भएको गुनासोका आधारमा भन्सार दर र मूल्यबृद्धिमा व्यावहारिक हेरफेर गर्ने।
  • महामारीको मुख्य स्रोत मानिएको नेपाल–भारत खुला सीमालाई कडाइका साथ नियमवद्ध गर्ने र सोको लागि खटेका सुरक्षाकर्मीलाई कर्तव्यका साथ विशेष भत्ता, बसोबास र काम गर्ने दक्षता बढाउने।
  • अपराध नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, शान्ति-सुरक्षाको प्रत्याभूति र सुशासनको क्षेत्रमा प्रधानमन्त्रीकै तहबाट कडाइसाथ विशेष कदम चलाउने।
  • देशभित्रको कृषि उत्पादनलाई प्राथमिकतापूर्वक बजारको सु-व्यस्था गर्ने। लकडाउन, निषेधाज्ञा (कर्फ्यु)जस्ता बेलामा पनि कृषि उत्पादनलाई निर्वाध ढुवानी र पहुँच मिलाउने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here