देशभर कोरोना भाइरसको संक्रणम बढ्न थालेपछि ४१ जिल्लामा पूर्ण वा आंशिक लकडाउन

0
63

देशभर कोरोना भाइरसको संक्रणम बढ्न थालेपछि ४१ जिल्लामा पूर्ण वा आंशिक लकडाउन गरिएको छ । संक्रमण रोकथाम तथा नियनत्रणका लागि कतै जिल्ला प्रशासन कार्यालय मातमत निषेधाज्ञा लगाइएको छ भने कतै स्थानीय तहले निर्णय गरेर अत्यावश्यकबाहेकका व्यवसायमा रोक लगाएका छन् । गृह मन्त्रालयका अनुसार हिजोसम्म ४१ जिल्लामा आंशिक तथा पूर्ण लकडाउन गरिएको छ । २८ जिल्लामा स्थानीय प्रशासनले संक्रामक रोग नियन्त्रण ऐनअनुसार निषेधाज्ञा जारी गरेका छन् । अन्य जिल्लामा स्थानीय तहले लकडाउन लागू गरेका छन् । पर्सा, सप्तरी, बाँके, बारा, सुनसरी, सर्लाही, स्याङ्जा, बर्दिया, रौतहट, कपिलवस्तु, दोलखा, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, रामेछापमा जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा लागू गरिएको छ । नुवाकोटमा ६ स्थानीय तहमा निषेधाज्ञा छ भने जिल्लाभरी नै अत्यावश्यकबाहेकका सेवामा रोक लगाइएको छ । त्यस्तै, चितवन, पाल्पा, सुर्खेत, धनकुटा, उदयपुर, तनहुँ, रुकमु पश्चिम, धादिङ, मकवानपुर, कञ्चनपुर, झापा, दार्चुला, मोरङ, बझाङ, जुम्ला, सिराहा, महोत्तरी, धनुषा, काभ्रेपलाञ्चोकमा आंशिक लकडाउन छ । ‘रेडजोन’मा भए पनि काठमाडौं उपत्यकामा भने निषेधाज्ञा जारी गरिएको छैन । तर, विभिन्न सेवा बन्द गरिएका छन् । मध्यपुर ठिमी नगरपालिकाले लकडाउन नै लागू गरेको छ । कागेश्वरी मनहराले पनि अत्यावश्यकबाहेकको व्यवसाय बन्द गराएको छ । उपत्यकामा सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ ।त्यस्तै रेस्टुरेन्ट, सैलुन र जिमखाना पूर्ण रूपमा बन्द गरिएका छन् । अटेर गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । सरकारले दुई सयभन्दा धेरै संक्रमित भएको जिल्लालाई ‘रेडजोन’मा राखेको छ । हाल काठमाडौं, मोरङ, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र बाँके ‘रेडजोन’मा छन् । यीमध्ये सबैभन्दा धेरै काठमाडौंमा एक हजार चार सय २९ र पर्सामा एक हजार ८४ सक्रिय संक्रमित छन् ।हाल ७२ जिल्लामा संक्रमण देखिएको छ । संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा भने संक्रमितको संख्या शून्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here