नारायणकाजीको डेराका भित्ताले बोल्ने सन्देश

0
63


काठमाडौं, साउन १५ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ललितपुरको हात्तीवनस्थित भाडाको घरमा बस्न थालेको ८ वर्ष भयो। उनी बस्ने घरमा गेटको भित्तादेखि कम्पाउण्ड र कोठाका भित्तासम्मले आम राजनीतिज्ञका भन्दा फरक सन्देश बोल्छन्। श्रेष्ठले घरको मुल गेट नै अनौठो खालको स्वागत बोर्ड राखेका छन्। जसले भेट्न आउनेहरूलाई सोच्न बाध्य तुल्याउँछ- उनले बोर्डमा समय लिएरमात्र आफूलाई भेट्न आउन सुझाएका छन्, भनसुनको काम लिएर नआउन भनेका छन्। निजी स्वार्थका लागि पक्षपातपूर्ण भनसुन गराउन वा कुनै बेठिक काम गराउन आउनु भएको होइन भन्ने कुरामा म विश्वास गर्दछु’, श्रेष्ठको घरको बाहिर सेतो बोर्डमा रातो अक्षरले लेखिएको छ। आफूलाई भनसुन गराउन आएका कतिपय व्यक्तिहरू बोर्डकै कारण नभनी फर्किएको अनुभवसमेत श्रेष्ठसँग छ।
त्यसो त श्रेष्ठले घरको कम्पाउण्डको पर्खालमा पनि विभिन्न व्यक्तिका महावाणी लेखाएका छन्। झट्ट हेर्दा उक्त घर कुनै राजनीतिज्ञ बस्ने घरभन्दा पनि विद्यालयजस्तो देखिन्छ।



गान्धी, गौतम बुद्ध, मार्क्स, माओ र ओशोका विचार उनले भित्तामा लेखाएका छन्। हरेक दिन बिहान उठ्दा आफैंलाई झक्झक्याउन बोर्ड राखिएको श्रेष्ठ बताउँछन्। अरूले पनि त्यो पढून् भन्ने उनको चाहना छ।





गान्धी, गौतम बुद्ध, मार्क्स, माओ र ओशोका विचार उनले भित्तामा लेखाएका छन्। हरेक दिन बिहान उठ्दा आफैंलाई झक्झक्याउन बोर्ड राखिएको श्रेष्ठ बताउँछन्। अरूले पनि त्यो पढून् भन्ने उनको चाहना छ।



‘मलाई भेट्न आउनेसँग म समयमै भेट्छु। तर कोही छिट्टै आयो भने पर्खने समयमा यो भने पढून् भनेर पनि लेखाएको हुँ’, श्रेष्ठले भने, ‘मान्छेमा कतिबेला सतविचार भित्रिन्छ थाहा हुन्न,’ उनले  गलत हृदयमा राम्रा विचार प्रवेश गरून् भन्ने आफ्नो इच्छा रहेको बताए।

सेतोपाटीसँगको कुराकानीमा उनले कम्पाउण्डमा लेखिएको माओ त्सेतुङको विचारको व्याख्या पनि गरे।

‘माओ त्सेतुङले परिवर्तनको पहिलो निशाना आफूलाई बनाऊ भनेका छन्’, श्रेष्ठ भन्छन्, ‘क्रान्तिलाई खाली राज्य र सत्ता लिने रूपमा मात्र बुझ्ने काम भयो। त्यसैले क्रान्तिको उद्देश्य जनताको सेवा हो भन्ने बुझाउन मैले लेखाएको हुँ।’

उनले आफ्नो घरमा आउने कतिपय नेताहरूलाई पनि यस्ता वाणीको व्याख्या गरेर सुनाउने गरेका छन्। पर्खालको भित्तामा अंग्रेजीमा लेखिएको एउटा भनाइ धेरै अर्थपूर्ण छ- इफ यु डन्ट स्ट्यान्ड फर समथिङ, यु विल फल फर एनिथिङ। अर्थात् तिमी कुनै खास मूल्यका लागि उभिएका छैनौ भने जेका लागि पनि गिर्नेछौ।

यो भनाइ आफूले विशेषगरि राजनीतिज्ञहरूलाई सुनाउने गरेको श्रेष्ठले बताए।

‘जीवनमा कुनै मूल्य त हुनुपर्‍यो नि समाजमा स्थापित गर्ने। पैसाको अभाव छ, थोरै त हो भनेर लिन थाल्नुभयो भने के हुन्छ’, श्रेष्ठ प्रश्न गर्छन्, ‘तपाईं एक अर्ब लिनुहुन्छ कि पाँच सय भन्ने महत्वपूर्ण होइन। घुस लिने प्रक्रियामा अड्नु हुन्छ कि हुन्न भन्ने हो। कुनै मूल्यमा नडिएपछि खस्किने अवश्यम्भावी हुन्छ।’

श्रेष्ठले आफू बस्ने घरको बैठक कोठामा पनि सहिदका फोटो राखेका छन्। नेपालको पहिलो सहिद लखन थापादेखि प्रजातन्त्र प्राप्तिका लागि लड्ने सहिद र जनआन्दोलनका सहिदको फोटो उनको कोठाका भित्तामा छन्।

‘हेरक पटक कुराकानीका लागि बस्दा सहिदका सपनाबाट विचलित नहोऔँ भनेर राखेको हुँ’, श्रेष्ठ फोटो राख्नुको कारण बताउँछन्।

श्रेष्ठले पञ्चायतविरूद्ध संघर्षमा सहिद भएका नेपाली कांग्रेसका नेता सहिद क्याप्टेन यज्ञबहादुर थापाको फोटो पनि भित्तामा राखेका छन्। २०३३ सालमा पञ्चायतविरूद्ध विद्यार्थी आन्दोलनमा जेल पर्दा आफूले थापालाई भेटेको श्रेष्ठ बताउँछन्।

‘उहाँलाई मृत्युदण्डको फैसला भएको थियो’, श्रेष्ठ सम्झन्छन्, ‘गोलघरमा राखिएको बेला पनि उहाँको अनुहार कति उज्यालो थियो। तपाईंहरूजस्तो भर्खरका युवा लोकतन्त्रका लागि लाग्नुभएको देखेर देशको भविष्य सुनिश्चित छ भनेर ढुक्क भएँ भनेर भन्नुभयो।’

केही समयपछि पञ्चायतले थापाको हत्या गर्‍यो।

‘बिपी कोइरालालाई राजा वीरेन्द्रले उपचारका लागि अमेरिका पठाए। त्यही बेला थपालाई जेलबाट निकालेर पञ्चायत सरकारले मार्‍यो,’ उनले भने।

पछि बिपीलाई भेटेर सो घटनाको विरोध जनाएको श्रेष्ठ बताउँछन्।

‘राजाले तपाईंको उपचार गर्ने अनि तपाईंका होनाहोर योद्धा मार्ने, तपाईं त्यही राजतन्त्रसँग मेलमिलाप गर्ने?’, श्रेष्ठ बिपीसँगको कुराकानी सुनाउँछन्, ‘बिपीले राजाले होइन राजाका वरिपरिका हार्डलाइनरहरुले हत्या गरेको हो भन्नुभयो। त्यसो भए मेलमिलाप पनि त हार्डलाइनरसँग गर्ने न होला भनेर हामी निस्कियौं।’

त्यसपछि आफूले कम्युनिष्ट र मार्क्सवादबारे पढ्न थालेको उनले बताए।

‘त्यसले मलाई कम्युनिष्ट पार्टीसम्म पुर्‍यायो,’ उनले भने।

गोरखामा धनी किसानको परिवारमा जन्मिए पनि परिवारको अवस्था खस्किएपछि आफू राजधानीमा बस्दा ट्युसन पढाएर कमाइ गरेको श्रेष्ठ बताउँछन्।

‘काठमाडौं पढ्न आउँदा ६० रुपैयाँ दिएर बुवाले पठाएको सम्झना छ’, श्रेष्ठले भने ‘इन्टरमिडियटमा छात्रवृत्ति पाएँ। त्यसपछि ट्युसन र विद्यालयमा पढाएर पढें।’          

त्यसपछि उनी पूर्णकालीन राजनीतिमा आए। उनले अहिले पनि आफ्नो नाममा कतै पनि कुनै घर घडेरी नरहेको बताए।

‘सांसद भएपछि बैंकमा अकाउन्ट खोलेको छु’, श्रेष्ठ भन्छन्, ‘त्यस अघि न मेरो कुनै अकाउन्ट थियो। न त मेरो कतै सेयर नै छ।’ 

                                    
उनी आफू बसिरहेको घरको भाडा केही समयअघि सम्म पार्टीले तिरिदिने गरेको बताउँछन्।

‘उपपप्रधान एवम् परराष्ट्रमा मन्त्री हुनुअघि झम्सिखेलमा पुरानो घरमा भाडामा बसेको थिएँ’, बाटो विस्तारको क्रममा भत्कियो’, श्रेष्ठ भन्छन्, ‘अनि हतार-हतार कोठा खोज्दा सहयोगीमार्फत घर भेटियो। तर घरबेटीले भाडा ५० हजार भन्नुभयो।’

घर राम्रो भए पनि आफूले भाडा तिर्न नसक्ने बताएपछि घरधनी न्युरो फिजिसियन सर्वोत्तम श्रेष्ठले आधा घटाइदिएको उनी बताउँछन्।

‘तपाईंको घरलाई ५० हजार भाडा पर्छ होला। तर मैले तिर्न सक्दिनँ। त्यसैले बस्दिनँ भनेर आएँ’, श्रेष्ठ भन्छन्, ‘भोलिपल्ट उहाँले तपाईं मेरो घरमा बस्नुस्। भाडा २५ हजारमा मात्र तिर्नुस् भन्नुभयो।’

८ वर्षअघि २५ हजार भाडा तिर्ने गरेको भए पनि अहिले वर्षेनी बढेर ४० हजार पुगेको उनले बताए। घर सरेपछि भने आफूले नै सफा पारेर बगैँचा बनाएको उनले बताए।

‘म आफू बस्ने ठाउँमा सधैँ हरियाली बनाउँछु’, श्रेष्ठले भने, ‘केही भएन भने पनि फूलमात्र भए पनि रोप्छु।’

श्रेष्ठ खानपिनमा पनि अनुशासित छन्। उनी जाँडरक्सी खादैनन्, धुमपान गर्दैनन्।

‘म शाकाहारी हुँ र चिया पनि ग्रिन टीमात्र पिउछु,’ उनी भन्छन्, ‘बिहान खाना खाएपछि दिउसो भरसक फलफूलमात्र खान्छु, साँझ खाना खान्छु।’

आलोचनात्मक चेत भएका श्रेष्ठ नेपाली राजनीतिज्ञहरूमा अध्ययनको कमी रहेको रहेको बताउँछन्। आफूले भने दैनिक साँझको समय पढ्नका लागि छुट्याउने गरेको उनी उल्लेख गर्छन्। नेपालीहरूमा आलोचनात्मक चेत कमजोर रहेको उनको बुझाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here