लकडाउनयता प्रदेश १ मा ४ सय १३ जनाले गरे आत्महत्या

0
53


१८ असार  । लकडाउनयता प्रदेश १ मा दैनिक ४ जनाले आत्महत्या गरेको पाइएको छ । प्रहरीका अनुसार गत चैत ११ देखि हालसम्म प्रदेशभरि आत्महत्या गर्नेको संख्या ४ सय १३ जना पुगेको छ । आत्महत्या गर्नेमा २ सय १७ पुरुष, १ सय ४२ महिला, २० बालक र ३४ बालिका छन् । प्रदेश १ प्रहरी कार्यालयका अनुसार प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा बढी मोरङमा ७८, झापामा ७६ र सुनसरीमा ५७ जनाले ज्यान गुमाएका छन् । करिब डेढ लाख जनसंख्या भएको धरान उपमहानगरमा लकडाउनयता गत मंगलबारसम्म २२ जनाले आत्महत्या गरेका छन् । इलाममा ३७, उदयपुरमा २७, ओखलढुंगामा १५, खोटाङमा १७, धनकुटामा १५, पाँचथरमा १६, सोलुखुम्बुमा १६, भोजपुरमा १७, तेह्रथुम, संखुवासभामा र ताप्लेजुङमा १४/१४ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । आत्महत्याको दर बढ्नु समाज र परिवारका लागि भयानक खतराको संकेत भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक रोग विभागका प्राडा धनरत्न शाक्यले बताए । प्रतिष्ठानका मानसिक रोग विभागका अर्का मनोचिकित्सक प्राडा निदेश सापकोटाले मानसिक तनाव नियन्त्रण र व्यवस्थापन गर्न नसक्दा शरीर र मस्तिष्कमा हुने हर्मोन (रसायन) परिवर्तनले मानसिक रोग थपिने, पुरानो मानसिक समस्या भए झन् कडा हुने भएकाले आत्महत्याको दर घटाउन मनोसामाजिक परामर्श जरुरी रहेको उनले बताए । समाजशास्त्री विज्ञान शर्माले सामाजिक र आर्थिक अवरोध सिर्जना भएका बेला मान्छेले आत्महत्या गर्ने दरमा वृद्धि हुने गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here