आत्महत्या समाचारको मानसिक असर

0
95



प्रेमनारायण भुसाल

भारतीय अभिनेता सुशान्त सिंहले आत्महत्या गरेको समाचारले भारतीय मिडिया मात्र होइन नेपाली सञ्चारका माध्यममा पनि निकै स्थान पाएको छ। कोरोना महामारीका कारण संसारभर आत्महत्याको दर बढ्दै गएको सन्दर्भमा सुशान्तजस्ता सेलिब्रिटीको आत्महत्याले समाजका हरेक तह र तप्कालाई प्रभाव पारेको छ। आत्महत्या अस्वाभाविक र अप्राकृतिक क्रियाकलाप हो। प्रत्यक्षरूपमा देखिने घटना आत्महत्या भए पनि यसका पछाडि अनेक कारण हुन सक्छन्। कारणको पहिचानबिना अनुमानका आधारमा यही कारणले व्यक्तिले आत्महत्या गर्‍यो भन्ने समाचार प्रसारित गर्दा यसले जनमानसमा नकारात्मक असर पार्ने र धेरै व्यक्तिलाई आत्महत्या गर्न प्रेरितसमेत गर्छ।सेलिब्रेटी सुशान्त सिंहले आत्महत्या गर्नुका पछाडि बलिउड क्षेत्रमा उनीमाथि शोषण भएको, अघिल्लो पुस्ताका कलाकारले उनलाई बुलिङ गरेका र उनी आर्थिक समस्यामा पनि फस्दै गएको विषय अगाडि सारेका छन्। केहीले उनको आत्महत्या नभई हत्या भएको शंकासमेत गरेका छन् भने उनी पहिलेदेखि नै मानसिक रूपमा विक्षिप्त भएकाले औषधि सेवन गर्दैआएका कुरा पनि मिडियाले प्रकाशित गरेका छन्।

यी र यीबाहेकका कुनै पनि कुरा वास्तविक कारक हुन सक्छ तर उनको आत्महत्याको सनसनीपूर्ण खबरसँगै आत्महत्याका कारणका रूपमा बुलिङ र आर्थिक शोषणका कुरा प्रसारित भए। जसले जनमानसमा नराम्रो प्रभाव पारेको छ। नेपाल र भारतका सन्दर्भमा विभिन्न समयमा हुने आत्महत्याका समाचार प्रसारण गर्ने सन्दर्भमा विषयवस्तुको गहनतामा नपुगी पत्रकार वा प्रहरीले गरेको अनुमानका आधारमा समाचार बनाइने गरेको पाइन्छ। आत्महत्याको घटनाको समाचार मात्र दिनुभन्दा कारणसमेत उल्लेख गर्न सके समाचारको महत्तव र ओज बढ्ने भएकाले पत्रकारले तत्काल प्राप्त भएका कुराको वास्तविकता परीक्षणबिना जनमानसले गरेका तर्कलाई आधिकारिक समाचारसँग जोड्ने गरेको पाइन्छ। यसले गर्दा समाचारका पाठकमा अस्वाभाविक किसिमको एन्जाइटी र विक्षिप्तता बढ्न थाल्छ।

सामान्यतया कसैले आत्महत्या गर्‍यो भने उसको आर्थिक अवस्था कस्तो थियो वा आर्थिक अवस्थामा आएको उथलपुथलकै कारण हो कि भनी मानिस शंका गर्ने गर्दछन्। यहाँनेर एउटा कुरा के स्पष्ट हुनुपर्छ भने आर्थिक विपत्तिले सबै मानिसले आत्महत्या गर्दैनन्। आर्थिक विपत्तिले आफ्नो जीवनलाई झनै खारेर संघर्षशील जीवन व्यतीत गर्ने मानिस लाखौं छन् तर समाचारमा तुरुन्तै कारण खोज्ने स्वभावका कारण व्यक्तिले उसलाई जीवनका तुरुन्तै देखिने किसिमका घटनासँग लगेर आत्महत्यालाई जोडिदिने गर्छन्।

आत्महत्याका समाचारभन्दा आत्महत्या रोकथामका उपायबारे आम जनतालाई सुसूचित पार्नु जिम्मेवार नागरिक तथा सञ्चारगृहको दायित्व हो।

अनुमानका आधारमा गरिने यस किसिमका तर्कले मृतकप्रति त अन्याय हुन्छ नै समग्र सामाजिक संरचना र सोचमा समेत नकारात्मक असर पार्छ। पारिवारिक विचलन हुँदैन सबै मानिस मृत्यु नै रोज्दैनन्, भत्किएको घर र बिग्रिएको सम्बन्धले नै बुद्दुलाई बुद्ध बनाएका, विपत्तिमा रुमल्लिएकालाई संभ्रान्त बनाएका घटनाहरु समेत प्रशस्तै भेटिन्छन्। व्यक्तिको आत्महत्याको कारण उसको इज्जत–प्रतिष्ठा, उसले जीवनमा पाएका दुःखकष्ट र भोगाइमा सीमित गरिदिँदा तीती काम बिग्रिँदा आत्महत्या गर्नु नै समाधान हो भन्ने गलत मनोविज्ञानको सिर्जना हुन्छ भने आत्महत्याको खास कारक मानसिक स्वास्थ्यलाई ओझेलमा पार्ने सम्भावना रहन्छ।

आत्महत्याका घटनाले समान उमेरका र उस्तै पेसा व्यवसाय गर्ने व्यक्तिलाई सबैलाई भन्दा बढी प्रभाव पार्ने गर्छ। सेलिब्रेटीका आत्महत्याका घटनाले जीवनको सबैभन्दा ठूलो उपलब्धि इज्जत र नाम कमाउनु हो यदि सो कमाउन सकिएन भने मर्नु नै राम्रो उपचार हो भन्ने गलत सन्देश आम युवा तथा बालबालिकालाई दिन सक्छ। धेरै घटनामा आत्महत्याका घटना आर्थिक कुरासँग जोडिँदा सर्वसाधारणमा पैसा कमाउन सकिएन भने वा आर्थिक स्थिति बिग्रियो भने अन्तिम गन्तव्य भनेको आत्महत्या हो भन्ने सन्देश दिन सक्छ। प्रेम सम्बन्धमा असफल भएका कारण सबै मानिस आत्महत्या गर्दैनन्।

उनीहरूलाई बिछोड झनै बल र बाँच्ने हौसला दिने घटना बन्न सक्छ। इज्जत प्रतिष्ठा वा तनावका सन्दर्भमा किन नहोस् व्यक्ति सामना गर्नुभन्दा मृत्युलाई सहज देख्न थाल्ने अवस्थामा पुग्छ। यस्ता घटना निरन्तर भइरहँदा र घटनाका बारेमा प्रचारप्रसार भइरहँदा व्यक्तिको मनोविज्ञान कमजोर बन्दछ र आफ्ना समस्यापूर्ण क्षणलाई आत्महत्या गर्ने व्यक्तिका अवस्थासँग तुलना गर्दै जाँदा त्यसै प्रकारका न्युरोट्रान्मिटरको उत्पादन हुन पुगी व्यक्ति अकाल मृत्युवरण गर्ने सोच बनाउन थाल्छ। नकारात्मक सोच र जीवनप्रति निराशावादी बन्न थालेपछि व्यक्तिले आत्महत्या गर्न सक्ने व्यक्तिलाई महान् र आफूलाई त्यत्ति पनि गर्न नसक्ने कायल व्यक्ति ठान्न थाल्छ। फलतः उसको मस्तिष्कमा खुसी रसायनका नामले चिनिएका डोपामाइन र सेराटोनिन जस्ता न्युरोट्रान्समिटरको उत्पादनमा ह्रास आउँछ र अकारण वा साह्रै सानो कारणलाई लिएर व्यक्तिले आत्महत्या गर्न सक्छ।

आत्महत्यालाई समाजमा विभिन्न किसिमले लिइने गरिन्छ। कोही यसलाई कमजोर मानसिकताको उपज मान्दछन् भने अर्काथरी सामाजिक परिघटनाको परिणाम भन्दछन्। मनोवैज्ञानिक तथ्यका आधारमा हेर्दा आत्महत्याका घटनामध्ये करिब ८० प्रतिशत डिप्रेसनजन्य मनोरोगका कारण हुने गरेका छन् भने अन्य घटना तात्कालिक आवेश र नशालु पदार्थको कारणले हुने गरेका छन्। मानसिक समस्या साइकोसिस र न्युरोसिस गरी दुई किसिमका हुने गर्छन्। साइकोसिस मस्तिष्कीय केमिकल र अवयवको संरचनामा आएको विचलनले तथा लामो समयसम्मको मनोसामाजिक असन्तुलनले मस्तिष्कमा आएको विकार हो। नभएका घटना पनि देख्ने, अस्वाभाविक किसिमले शंकालु हुने, नभएकै आवाज सुन्ने जस्ता असामान्य स्वभावका कारण साइकोसिस भएका मानिस आफूलाई मात्र ठीक र अरू सबैलाई बेठीक देख्न थाल्छन्। उनीहरूलाई आफन्त, आफ्नो शरीर, इज्जतप्रतिष्ठा तथा सामाजिक मूल्य मान्यता महत्तवहीन लाग्न थाल्छन्। यसैले मानसिक रोगका कारण जुनसुकै बेला यस्ता व्यक्तिले असामान्य गतिविधि गर्ने वा आत्महत्या गर्ने सम्भावना रहन्छ।

न्युरोसिस सामाजिक सन्तुलनमा आएको गडबडीका कारण सिर्जना हुने मनोसामाजिक समस्या हो। परिवर्तनलाई स्वीकार गर्न नसक्नु वा आफूलाई फरक परिवेशमा समायोजन गर्न नसक्नु नै न्युरोसिसको कारण भएकाले अतिसंवेदनशील मानिसलाई अन्य व्यक्तिले गरेका सामान्य कामले पनि गम्भीर असर पार्न सक्छ। जसका कारण यिनीहरू आफूलाई दोष दिने र आफ्नो कुरा अरूले बुझ्न नसक्ने निष्कर्ष निकाली समाजबाट एक्लिँदै जाने थाल्छन्। यो क्रम बढ्दै गएमा उनीहरूलाई डिप्रेसनले गाँज्न थाल्छ। समयमा परामर्श र उपचार हुन नसकेमा डिप्रेसन आत्महत्याको कारण बन्न सक्छ तर कुनै काममा असफल हुनु वा कुनै काम बिग्रेकाले दुईचार दिन चिन्तित हुनु भने डिप्रेसन होइन।

कसरी रोकथाम गर्ने आत्महत्या ?

स्वस्थ जीवन शैली र सकारात्मक सोच मानवका लागि सबैभन्दा ठूलो ऊर्जा हो। आध्यात्मिक चिन्तन र अभ्यासले मानसिक सन्तुलनमा ठूलो महत्तव राख्दछन्। स्वस्थ खाना, स्वच्छ विचार र पवित्र सम्बन्धका लागि नैतिक चेतना र सामाजिक सन्तुलनमा जोड दिनुपर्छ। भौतिक तत्तवको प्राप्ति र अप्राप्ति जीवनभन्दा ठूला नभएकाले सञ्चारका यावत् चिजहरु जीविकोपार्जनका लागि सहज बनाउने वस्तु मात्र हुन्। यी सबैको अस्तित्व क्षणिक छ भन्ने शिक्षा बाल्यकालदेखि नै दिन आवश्यक देखिन्छ। आफ्नो इच्छापूर्ति नहुँदा वा काममा असफल हुँदा स्वयंलाई धिक्कार्ने वा हतास हुने होइन। सफलताका लागि पुनः प्रयास गर्नुपर्छ भन्ने चेतनाको विकासका लागि विद्यालय शिक्षा प्रतिस्पर्धात्मक होइन सहयोगात्मक हुनुपर्छ। सहयोगी भावनाको अभिवृद्धि, आध्यात्मिक सोच, नैतिक चेतना र भौतिक वस्तुको नस्वरताबोध गराउन सक्ने हो भने व्यक्तिले जीवन र जगत्लाई फरक दृष्टिकोणले हेर्न सक्छ। विपत्तिबाट भागेर मृत्युवरण नगरी सामनाका लागि आफूलाई सधंै तयार गर्नुपर्छ। यसका लागि एकले अर्काको विचारको कदर गर्ने, अरुका कुरा सुन्ने र आधुनिकताका नाममा परसंस्कृतिको अन्धाधुन्ध अनुकरण गर्न रोकेमा र प्रविधिको दुश्प्रभावबाट टाढा रहन सकेमा आत्महत्याका घटनालाई अवश्य कम गर्न सकिन्छ। राज्यले मनोपरामर्श र मानसिक स्वास्थ्यका क्षेत्रमा आम नागरिकलाई पहुँच दिलाउनुपर्छ।

आत्महत्या आफैंमा नकारात्मक ऊर्जाले जितेर सिर्जना हुने घटना हो जसले दर्शक, श्रोता सबैमा नकारात्मक ऊर्जा नै सञ्चार गर्ने गर्छ। अझ कुनै परिस्थिति विशेषका कारण विचराले आत्महत्या गर्‍यो भनेर प्रचार प्रसार गर्दा सामान्य व्यक्तिले समेत आफ्ना कष्ट र आत्महत्या गर्ने व्यक्तिका समस्याको तुलना गर्न थाल्छ। नकारात्मक ऊर्जाले जित्दै गएपछि व्यक्तिले अकल्पनीय कार्य गर्न सक्छ। यसैले आत्महत्याका समाचारभन्दा आत्महत्या रोकथामका उपायबारे आम जनतालाई सुसूचित पार्नु जिम्मेवार नागरिक तथा सञ्चारगृहको दायित्व हो।

-भुसाल मनोवैज्ञानिक परामर्शदाता हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here