प्रधानमन्त्रीज्यू, वैज्ञानिकलाई ‘चान्स’ दिने कि?

0
92


डा. रन्जन मिश्र र डा. रमेश प्रसाद पाण्डे

चीनको वुहानमा सुरू भएको कोभिड-१९ महामारी अहिले विश्वव्यापी भइसकेको छ। नेपालमा पहिलो संक्रमण चीनबाट आएका एक जनामा जनवरीमा नै देखिएता पनि दोस्रो संक्रमण मार्चमा आएर मात्र देखिएको थियो। त्यसपश्चात भारतलगायत तेस्रो मुलुकबाट आएकामा र उनीहरूको सम्पर्कमा आएकालाई सानो संख्यामा देखिन थालेको थियो। तर मे १२ का दिन भने एकैदिन ८३ जनालाई संक्रमण देखियो। अहिलेसम्म आइपुग्दा प्रत्येक दिन १०० भन्दा बढी संक्रमण देखिन थालेको छ। २६०० सय बढीमा संक्रमण भइसक्दा कमसेकम ११ जनाको मृत्यु भएको छ। कोभिड-१९ का विरूद्ध कुनै उपचार नबनेको सन्दर्भमा हामीसँग रहेको रोकथाम विधि भनेको बिरामीको सम्पर्क अनुरेखण गर्ने, नयाँ रोगीको पहिचान गर्ने तथा उनीहरूलाई  क्वारेन्टिन गरेर फैलिन नदिने हो। यसका लागि हाम्रो परीक्षणको दायरा फराकिलो पार्न अत्यन्त आवश्यक छ। यो सम्भव पार्न हामीलाई धेरै  परीक्षण किट आवश्यक पर्छ। कोभिड-१९ को पहिचानको लागि अहिले नेपालमा दुई प्रकारका विधि प्रयोग गरिएको पाइन्छ। पहिलो, कोभिड-१९ मा रहेको आनुवंशिक तत्व (न्यूक्लिक एसिड) -आरएनए पत्ता लगाउने विधि पोलिमेरेज चेन रियाक्सनमा (पिसिआर) आधारित परीक्षण र दोस्रो हाम्रो शरीरले कोभिड-१९ का विरूद्ध बनाएको एण्टिबडी पत्ता लगाउने र्‍यापिड एण्टिबडी टेस्ट।

यी टेस्टका आफ्नै विशेषता र सीमितता छन्। पिसिआरले बिरामीबाट लिइएको नमूनामा भएको भाइरल आरएनएलाई लगारिथमिक तवरले विस्तार गर्छ। जसले गर्दा थोरै भाइरस नमूनामा हुँदा समेत पत्ता लगाउन सक्छ। यसको मतलब कोभिड-१९ ले संक्रमण गरेको केही दिनभित्र नै पत्ता लगाउन सक्छ। यसकारण समाजमा कति संक्रमण छ भनेर यसले वास्तविक चित्र देखाउँछ। तर कोभिड-१९ मा पाइने आरएनए, डिएनएभन्दा एकदमै अस्थिर हुन्छ। जसले गर्दा नमूना संकलन गर्दा तथा प्रयोगशालामा हुन सक्ने सानो मानवीय त्रुटीले कोभिड-१९ हुँदा पनि नभएको देखाउन सक्छ। साथै यी परीक्षण केवल प्रमाणित प्रयोगशालाहरूमा मात्र प्रशोधन गर्न सकिन्छ, जसको कारण हाम्रो जस्तो देशमा परीक्षणका नतिजा एकदम ढिलो आइरहेका छन्। जुन बिरामी र स्वास्थ्यसेवा र निगरानी प्रणालीका लागि हानिकारक हुन्छ। एण्टिबडीमा आधारित टेस्टमा भने यस्तो मानवीय त्रुटी हुने तथा ढिलाइ हुने सम्भावना कम रहन्छ। यस्तो टेस्टमा संक्रमितले कोभिड-१९ का विरूद्ध  लड्न एण्टिबडी बनाएको छ कि छैन भनेर पहिचान गरिन्छ।

संक्रमण भएको करिब एक सातापछि हाम्रो शरीरले एण्टिबडी बनाउन थाल्छ, जुन लामो समयसम्म रहन सक्छ। कोभिड-१९ एक नयाँ भाइरस भएकाले ठ्याक्कै कति समयसम्म रहन सक्छ भन्ने यकिन भइसकेको छैन। यसकारण र्‍यपिड एण्टिबडी टेस्ट परीक्षणको उत्तम विकल्प हैन।

यदि कोभिड-१९ का सँगै मिल्दा-जुल्दा अरु कोरोना भाइरसबाट पहिले नै संक्रमण भई  तिनका विरूद्ध शरीरले एण्टिबडी बनाएको छ भने यस्ता किटले पोजिटिभ नतिजा दिन सक्छ।

सुरूका दिनमा विकास भएका यस्ता किटहरूले धेरै झूटा ‘सकारात्मक’ नतिजा देखाएता पनि नयाँ बनाइएका किटमा धेरै सुधार आएका छन्। केही समय अगाडि रोस डायग्नोस्टिकले विकास गरेको तथा एफडीएले स्वीकृत गरेको यस्तो किटले ९९ प्रतिशतभन्दा बढी सही नतिजा दिने दाबी गरिएको छ।

पहिला चीनमा विकास भएका यस्ता किटहरूले करिब ८० -९० प्रतिशतमात्र सही नतिजा दिन सक्थे।

खास गरेर कोभिड-१९ को महामारी नियन्त्रण ल्याइसकेका देशहरूले अहिले समुदायस्तरमा रहेको संक्रमण पत्ता लगाउन यो विधि प्रयोग गर्ने गरेका छन्।

तर यो विधिलाई नेपालमा हेरचाहको बिन्दुबाट प्रयोग गरिएको छ।

यी दुवै टेस्ट आयातित हुन्। कुनै टेस्ट हामीले चीन लगायत मुलुकबाट खरिद गरेका छौं त, कुनै हाम्रा दाता मुलुकहरूले दिएका छन्।

हालै स्विजरल्याण्डले तीस हजार पिसीआरमा आधारित टेस्ट किट प्रदान गरेको थियो। अहिले दैनिक सयभन्दा कम केस हुँदा त टेस्ट किटहरूको हाहाकार भएको परिप्रेक्ष्यमा समुदायमा संक्रमण बढ्दै जाँदा भयाभह स्थिति आउने निश्चित छ।

यस सन्दर्भमा हामी आफैं यस्ता किट बनाउन अग्रसर हुन आवश्यक छ। विकसित मुलुकहरूलाई नै आवश्यक टेस्ट किट जुटाउन धौ-धौ परिरहेको यो महामारीको अवस्थामा हामी उनीहरूमा मात्र भर परेमा नेपालमा कोभिड-१९ को जनस्तरमा सही परीक्षण र नियन्त्रण गर्न सम्भवत असमर्थ हुनेछौं।

कोभिड-१९ परीक्षणमा कसरी आत्मनिर्भर बन्ने त ?

बायोटेक तथा मेडिकल इञ्जिनियरिङका क्षेत्रमा नेपालले विस्तारै फड्को मार्दै आइरहेको छ। त्रिभुवन तथा काठमाडौं विश्वविद्यालयले यस क्षेत्रमा जनशक्ति विकास गरिरहेका छन्। साथै केही अनुसन्धान पनि भइरहेकाले प्रयोगशालामा चाहिने न्यूनतम उपकरण जोडिएका छन्।

विदेशमा अध्ययन गरेर नेपाल फर्केका युवा वैज्ञानिकहरू आफैं कम्पनी तथा अनुसन्धान संस्थाहरू खोलेर विश्व-स्तरीय काम गर्न थालिसकेका छन्।

जस्तै: शिखर बायोटेकले अहिले एण्टिबडी उत्पादन गरी विश्वस्तरमा विक्री गरिरहेको छ।

पिसीआर तथा एलाइजामा आधारित प्रविधि नेपाली विश्वविद्यालय तथा निजी संस्थाहरूले प्रयोग गरिरहेका छन्।

संसारभर कोभिड-१९ परीक्षणका लागि दिनानुदिन नयाँ प्रविधि विकास भइरहेका छन्, जुन खुला पहुँचसहित प्रकाशित भएका छन्।

यदि हामीले हामीसँग उपलब्ध प्रविधि, जनशक्ति र संसारभर भएका अन्वेषणका नतिजालाई प्रयोग गरेमा कमसेकम दुई प्रकारका परीक्षण विधि विकास गरी प्रयोगमा ल्याउन सकिन्छ। यस्ता विधिले हाल उपयोगमा रहेका विधिले दिने जस्तै जानकारी दिन सक्छन्।

१. आरटी ल्याम्प विधि   

महामारीसँगै धेरै भाइरस परीक्षण गर्ने विधि विकास भएका छन्। हामी जस्तो न्यून आय, सीमित स्रोत र साधन भएको देशमा सस्तो, प्रभावकारी र तीव्र गतिमा परिणाम दिने विधी उपयोग गर्नु अत्यावश्यक हुन जान्छ। ती विधीमध्येको एक आरटी ल्याम्प विधि (रिवर्स ट्रन्स्क्रिप्सन लुप-मिडिअेटेड आएसोथर्मल अेम्प्लिफिकेसन) नेपालको परिप्रेक्ष्यमा विशेष उपयोगी विधि हुन सक्छ।

आरटी ल्याम्प विधि जिका र मर्स भाइरसका विभिन्न नमूना परीक्षण गर्न उपयोग हुन सकिने भनेर  अनुसन्धान भएका थिए। 

हालसालै आएर केही महिना अगाडि यो विधि चीन र कोरियाका वैज्ञानिकहरूले कोभिड-१९ को परीक्षण गर्न विकसित गरेका हुन्। सो विधिमा भाइरल न्युक्लिक एसिड प्रशोधन गर्नुपर्ने आवश्यकता थियो। हालै आएर हार्वर्ड युनिभर्सिटीका वैज्ञानिकहरूले यस विधिको विकसित रूप विकास गरेका छन्, जुन सामान्य छ, सस्तो छ र तीव्र रूपमा भाइरस छ कि छैन भनेर जाँच्न उपयोगी छ।

वैज्ञानिक समीक्षा हुन बाँकी बायोआर्काइभ जर्नलमा प्रकाशित यो विधिमा पहिले जस्तो भाइरल न्युक्लिक एसिड प्रशोधन आवश्यक छैन। यो विधि अहिले उपयोगमा आएको पिसिआरको जस्तै प्रिन्सिपलमा आधारित छ तर पिसिआर जस्तो महँगो उपकरण आवश्यक पर्दैन।

एउटा मात्रै तापक्रममा परीक्षण गरिने हुँदा यो विधि सामान्य रूपमा जहीँकहीँ सजिलोसँग स्थापित गर्न सकिन्छ र सहजका साथ  धेरैभन्दा धेरै नमूना छोटो समयमा परीक्षण गर्न सकिन्छ।   

सहज रूपमा नमूनालाई प्रशोधन गर्ने विधि पनि वैज्ञानिकहरूले सुझाएका छन् जुन विधिले थोरैभन्दा थोरै भाइरस भएको नमूनाको पनि सही परिणाम दिन्छ।

घाँटीको र नाकबाट लिएको स्वाब मात्र नभएर र्‍याल पनि नमुनाको रूपमा उपयोग गर्न सकिन्छ।

हालमा प्रचलित विधिहरूको मुख्य समस्या नमूना प्रशोधन रहेको छ।

नमूना प्रशोधन गर्न र भाइरल न्युक्लिक एसिड नमूनाबाट आइसोलेसन गर्न विभिन्न किट र रसायनको जरूरत पर्ने हुन्छ, जुन महँगो छ र सजिलोसँग उपलब्ध छैन।

अहिले प्रयोग भइरहेको पिसिआर विधि महँगो हुनु यो पनि एक कारण हो।

यस्को अलावा पिसिआर विधिको लागि सक्षम प्राविधिक र महँगो पिसिआर मेसिनका साथै अरु रसायन पनि जरूरत हुन्छ।

नमूना राम्रोसँग प्रशोधन नहुँदा एउटै नमूनाको कहिले पोजेटिभ त कहिले नेगेटिभ परिणाम आएको सुनिन्छ। विकसित मुलुकहरूले नयाँ विधि अवलम्बन नगरिकन पिसिआर विधिबाट पनि धेरै भन्दा धेरै नमूना प्रशोधन गर्न सक्ने क्षमता राख्दछन्। त्यसैले यो विधी विकसित देशमा भन्दा विशेषत हाम्रो जस्तो मुलुकको लागि धेरै नै उपयोगी रहेको लेखकद्वयको ठम्याइ छ।   

यस नयाँ  विधिमा भाइरल न्युक्लिक एसिड सिलिका (ग्लास मिल्क) मा बाँधिन्छ र नमूनामा थिग्रिन्छ। जसले गर्दा भाइरल न्युक्लिक एसिड सजिलोसँग प्रशोधन गर्न सकिन्छ।

ग्लास मिल्क सजिलोसँग थोरै लगानीमा लाखौं नमूना परीक्षण गर्न पुग्ने गरी नेपालमै (त्रिभुवन अथवा काठमाडौं विश्वविद्यालयमा) तयार गर्न सकिन्छ।

यो विधिमा आवश्यक पर्ने अरु रसायन जस्तै: सोडियम आयोडाइेड, इडिटिअे, इथनोल, फोस्फेट बफर, हाइड्रो क्लोराइड जस्ता रसायन पनि नेपालमै प्रयोग भइराख्ने र त्रिभुवन विश्वविद्यालयका रसायन विभाग र जीव विज्ञान (बायो टेक्नोलोजी) विभागमा हजारौंदेखि लाखौं नमूना प्रशोधन गर्न पुग्ने परिणाम सहजै उपलब्ध हुन सक्छ।

नत्र बजारमा पनि प्रशस्त मात्रामा किन्न सकिन्छ।

अन्त्यमा, प्रशोधन गरिएको नमूना आरटी ल्याम्प रसायनसँग मिलाउनु पर्छ। जसले ६० मिनेटभित्र परिणम दिन्छ जुन सजिलोसँग आँखाले देख्न र बुझ्न सकिन्छ।

आरटी ल्याम्प रसायन अहिले नेपालमा तयार गर्नु प्राय: असम्भव छ। तर थोरै लगानीमा विदेशबाट निर्यात गर्न सकिन्छ। यो विधि प्रयोग गरेर एकै पटकमा सयौदेखि हजारौं नमूना सस्तो, सुलभ, र उच्चस्तरले विशेष सामग्री बिना नै देशका विभिन्न स्थानमा परीक्षण गर्न सम्भव हुन सक्छ।

यो विधि सस्तो र सजिलो हुनाले एउटै संक्रमितको २-३ वटा फरक फरक नमूना पनि प्रयोग गरेर धेरै विश्वासिलो परिणाम निकाल्न सकिन्छ।

नेपालको परिप्रेक्ष्यमा र्‍यपिड टेस्टबाट पोजेटिभ देखिएका बिरामीको पुन: परीक्षण गर्न र कन्ट्याक ट्रेसिङ द्रुत रूपमा गर्न अहिले प्रचलित पिसिआर विधि ढिला र महँगो पर्न जाने हुन्छ।

त्यसैले यो विधि राम्रो, सस्तो, विश्वासिलो वैकल्पिक विधि हुन सक्छ तथापी अहिले कुनै कम्पनीले पेटेन्ट लिएको अवस्थामा सरकारी तवरबाट टेक्नोलोजी ट्रान्स्फर गर्नुपर्ने परिस्थिति उत्पन्न नहोला भन्न सकिँदैन।

२. एलाइजामा आधारित प्रविधि

एलाइजा (एन्जाइम-लिंक इम्युनोसेर्बेंट परख) एक विश्लेषणात्मक जीव रसायन परख हो। नेपालले पनि यो प्रविधि एड्स लगायत रोगहरूको पहिचान गर्न प्रयोग गरिरहेको छ।

साथै नेपालमा गरिएका धेरै अनुसन्धानमा यो विधिको प्रयोग भएको प्रकाशित पाण्डुलिपिहरूमा पढ्न पाइन्छ।

यसका लागि भाइरसमा हुने प्रतिजन (जस्तै बाहिरको प्रोटिन खोल) कुनै सतहमा स्थिर पारिन्छ। त्यस्तो सतहमा बिरामीबाट लिइएको सिरम करिब एक घण्टा इन्क्युबेट गरिन्छ।

यसो गर्दा बिरामीको शरीरले भाइरसविरूद्ध बनाएको एण्टिबडी प्रतिजनसँग गाँसिन्छ। त्यसपश्चात् यसलाई मानव शरीरले बनाएको एण्टिबडीसँग गाँसिने द्वितीयक एन्टिबडीसँग इन्क्युबेट गरिन्छ।

द्वितीयक एन्टिबडीमा ‘एचआरपी एन्जाइम’ जस्ता वर्णक प्रतिक्रिया देखाई रंगको विकास गर्ने तत्व जोडिएको हुन्छ।

भाइरस संक्रमण भएको सिरममा करिब एक सातापछि भाइरसविरूद्ध एन्टिबडी हुने हुदा रंग परिवर्तन देखिनेछ भने स्वस्थ मान्छेबाट पाएको नमूनामा रंग परिवर्तन हुने छैन।

यही सिद्धान्तमा आधारित भएर नै द्रुत परीक्षण किट बनाइएको हो। यसकारण यसलाई द्रुत परीक्षण किटको सट्टामा प्रयोग गर्न सकिन्छ।

द्रुत परीक्षण किटको तुलनामा यसको बेफाइदा भनेको यो हेरचाहको बिन्दुमा प्रयोग गर्न सकिँदैन र नतिजा पाउन पनि बढी समय (करिब ३-४ घण्टा) लाग्छ। तर एकै पटकमा ९६ वा ३८४ नमूना परीक्षण गर्न सकिन्छ।

तसर्थ, महामारीको समयमा सामुदायिक संक्रमण हेरेर निगरानी गर्न लाभदायिक हुन्छ।

‘एलाइजा’ मा आधारित टेस्ट गर्नका लागि ठूलो स्रोत-साधन चाहिँदैन। यो टेस्ट गर्न सक्ने आवश्यक जनशक्ति नेपालमा छ।

प्रविधि पनि नेपालका विश्वविद्यालय तथा प्रयोगशालाहरूमा उपलब्ध छ। आवश्यक अभिकर्मक पनि कति नेपालमा नै उपलब्ध छन्, भने कति तुलनात्मक रूपमा सस्तोमा आयात गर्न सकिन्छ।

शिखर बायोटेक कम्पनीका कार्यकारी अध्यक्ष र वैज्ञानिक निर्देशक डा. रभिन्द्र सापकोटाका अनुसार उहाँको कम्पनीले केही वर्षदेखि यस्ता द्वितीयक एन्टिबडी नेपालमा नै उत्पादन गरेर संसारभर बेचिरहेको छ।

अरु अभिकर्मकहरू पनि नेपालले स्पष्ट नीति लिएर प्रोत्साहन गरेमा नेपालमा उत्पादन गर्न सकिन्छ।

धेरै आधारित संरचना नचाहिने यस्तो प्रविधि प्रत्येक नगरपालिका र गाउँपालिका पुर्‍याउन सके महामारीको बेलामा गरेको लगानी कालान्तरसम्म अत्यन्त लाभदायिक हुनेछ किनकी सोही प्रविधि अरू रोगको परीक्षणको लागि पनि प्रयोग गर्न सकिन्छ।

यो टेस्ट तयार गर्न नेपाली वैज्ञानिकहरूले उत्तम प्रतिजन पत्ता लगाउनु पर्ने हुन्छ। यसका लागि हाम्रो शरीरले भाइरसको कुन घटकविरूद्ध एन्टिबडी तयार पार्छ भनेर बुझ्न जरूरी छ।

साधारणतया भाइरसको बाहिरी खोलमा हुने घटकहरूले हाम्रो प्रतिरोधात्मक प्रतिक्रिया देखाउँछन्। कोभिड-१९ को हकमा ती घटकहरू बाहिरी खोलमा हुने स्पाइक प्रोटिन हुन सक्छ। वैज्ञानिकहरूले अनुसन्धान गरेर सो पत्ता लगाउन सक्छन्। भारतलगायत अन्य देशहरूमा सो पत्ता लागिसकिएको छ, उनीहरूको अनुभवबाट पनि सिक्न सकिन्छ।

सुरूमा त्यस्ता प्रतिजन कृत्रिम रूपमा संश्लेषण गर्नुपर्ने हुन्छ, नेपालमा त्यस्तो प्रविधि नभइसकेको अवस्थामा विदेशबाट आयात गर्नुपर्ने हुन्छ।

तर उत्तम प्रतिजन पत्ता लागेपछि बायोटेक्नोलोजी  प्रयोग गरेर ठूलो मात्रामा स्वदेशमा नै उत्पादन गर्न सकिन्छ।

सबै कुरा तयार भएपछि कृत्रिम सिरम प्रयोग गरी प्रोटोकल अनुकलन गरिन्छ।

अन्त्यमा यो विधि संक्रमित बिरामीको रगतमा परीक्षण गरी हाल प्रयोग भैरहेका जत्तिकै वा सोभन्दा राम्रो नतिजा दिए हामी समुदायमा भएको संक्रमण निगरानी गर्न यो विधि व्यापक रूपमा प्रयोग गर्न सकिन्छ।

अवश्य नै ‘एलाइजा’ द्रुत परीक्षण किटलाई पूर्ण प्रतिस्थापन गर्न सक्दैन। तर एक भरपर्दो ‘एलाइजा’ टेस्ट बनाएमा त्यसलाई द्रुत परीक्षण किटमा ढाल्न खासै गाह्रो हुँदैन। ‘ल्याटरल-फ्लो’ मा आधारित किट बनाउने प्रोटोकल स्थापित भैसकेका छन्।

नेपालमा पनि “काठमाण्डु व्यवहारिक विज्ञान प्रतिष्ठान (KIAS)” ले कागजमा आधारित ‘ल्याटरल-फ्लो’ किट बनाउने काम गरिरहेको छ।

यस संस्थाका संस्थापक डा. बसन्त गिरीका अनुसार एक सफल ‘एलाइजा’ टेस्टलाई ‘ल्याटरल-फ्लो’ मा आधारित द्रुत परीक्षण किट बनाउन चाहिने विशेषज्ञता उक्त संस्थाका वैज्ञानिकहरूसँग छ।

सरकारले के गर्नु पर्ला?

सरकारले अहिलेसम्म लिएका नीतिले गर्दा समयमा लकडाउन गर्दा समेत नेपालमा कोभिड-१९ ले भयाभह अवस्था सिर्जना गर्दैछ। यसमा विशेषज्ञबाट सहयोग नलिइएको प्रस्ट झल्कन्छ। सरकारले तुरुन्त एक विज्ञहरूको टास्कफोर्स  बनाउन जरूरी छ, जसले कोभिड-१९ का विविध आयामहरूमा वैज्ञानिक सल्लाह दिन सकोस्। यस्तो टास्क फोर्सको एक जिम्मेवारी कसरी परीक्षणको दायरा बढाउने र त्यो बढाउँदा टेस्टिङ किटहरूको मागलाई कसरी थेग्ने भन्ने हुनुपर्छ।

पक्कै पनि उसले अब माग्ने वा विदेशबाट किन्ने हैन कि आफैं बनाएर आत्मनिर्भर हुने भन्ने दिशामा अघि बढ्न पनि सुझाउनुपर्छ।

यसका लागि कमसेकम तीन काम गर्न जरूरी छ।

पहिलो, सबै वैज्ञानिकहरूलाई कोरोनाको निदानका लागि आवश्यक प्रविधि विकास गर्ने प्रोजेक्ट बुझाउन खुला आह्वान गर्नुपर्छ। उनीहरूले माथि सुझाइएका जस्ता वा अन्य नविनतम वा अभिनव उपाय पनि प्रस्तुत गर्न सक्छन्।

कोभिड-१९ को महामारी सुरू हुन साथ अरु देश यसमा अगाडि बढेका थिए। त्यसैले त दिनानुदिन नयाँ प्रविधि विकास भएका छन्। महामारी केही ढिलो गरी फैलिएको हाम्रो नेपालमा हामीसँग समय थियो, जसमा हामी चुकिसकेका छौं, तर अब हामीलाई अरु ढिलो सुविधा बाँकी छैन। यस्तो खुला आह्वान गर्दा परेका दरखास्तहरूलाई योग्यताका आधारमा छानी पर्याप्त बजेट प्रधान गर्नुपर्छ।

साथै निजी क्षेत्रबाट गर्न चाहनेहरूलाई पनि प्रोत्साहन गर्नु आवश्यक छ। वैज्ञानिकहरू पनि अहोरात्र यसमा लागेर नेपाललाई सुहाउँदो र हाम्रो गक्षअनुसारको उत्तम विधि पत्ता लगाउन पर्छ। हामीसँग धेरै देशका अनुभव छन्।

पहिले नै गरेका अनुसन्धानका निचोड पढ्न पाइन्छ। यस सन्दर्भमा नेपालको आवश्यकता र साधनमा आधारित भएर परिमार्जन गर्नुपर्ने हुन्छ। यसरी अन्वेषण गर्दा संसारभरिलाई काम लाग्ने विधि पत्ता लाग्न पनि सक्ला।

दोस्रो, लकडाउनमा समेत यस्ता अनुसन्धानका गतिविधिहरूलाई खोल्न आवश्यक छ। अन्य देशहरूले पनि कोभिड-१९ को निदान र उपचारमा आवश्यक गर्ने केन्द्रहरूलाई लकडाउन खुला छोडेका थिए। अवश्य नै लकडाउन आवश्यक छ, तर कोभिड-१९ सम्बन्धी अनुसन्धानहरूलाई उच्च प्राथमिकतामा राखेर खुला छोड्नुपर्छ। वैज्ञानिकहरूले पनि विश्वविद्यालयहरूमा र नास्टमा भौतिक दूरी कायम गर्दै यस्ता गतिविधि अगाडि बढाउनु पर्छ।

तेस्रो, सरकारले यस्ता अनुसन्धानलाई सहयोग पुर्‍याउन केही नीति परिमार्जन गर्नुपर्छ। सर्वप्रथम त कोभिड-१९ का नमूनामा वैज्ञानिकहरूलाई पहुँच दिनु पर्दछ। यसले वैज्ञानिकहरूलाई आफूले तयार पारेको विधि परीक्षण गर्न सहयोग हुन्छ।

साथै यदि त्यस्ता विधि सफल भए छिटो बाटोबाट प्राधिकरण प्रदान गर्नुपर्दछ। सरकारले एकद्वार नीति ल्याएर वैज्ञानिकहरूलाई आवश्यक पर्ने सबै कुरा उपलब्ध गराउनु पर्छ र वैज्ञानिकहरूलाई कुनै झमेला बिना एकाग्र भएर अनुसन्धानमा लाग्ने वातावरण तय गर्नुपर्छ।

यसो गरेमा नेपाल सुहाउने परीक्षणका किट विकास हुने छन् र कोभिड-१९ लगायत अन्य रोगको निदान गर्न आत्मनिर्भर बन्ने दिशामा फड्को मार्नेछौं।

यो विपदको घडीमा हामीसँग उपलब्ध स्रोत साधन सबैको बढीभन्दा बढी प्रयोग गर्नुपर्छ। हाम्रा विश्वविद्यालयहरूलाई पनि टेस्ट गर्न अनुमति दिनुपर्छ।

यसो गर्न सकेमा हामी कोभिड-१९ विरूद्धको युद्धमा त सफल हुने नै छौं, भविष्यमा आइपर्ने अरु महामारीका विरूद्ध पनि तयार हुनेछौं।

साथै कछुवाको गतिमा रहेको हाम्रो वैज्ञानिक विकासले फड्को मार्नेछ।

हाम्रो सरकारसँग इच्छाशक्ति छ त?, कि सरकार नेपाललाई सधैं भिकारी नै राख्न चाहन्छ? ‘चान्स पाए नेपालीले गर्छ’ भन्ने हाम्रो प्रधानमन्त्रीलाई लेखकद्वय मार्फत् सारा नेपाली युवा वैज्ञानिकहरूको एउटै खुला प्रश्न छ, महामारी र अन्य विकराल परिस्थितिसँग जुध्न सक्ने नेपाल निर्माण गर्न, हाम्रा नेपाली वैज्ञानिकहरूलाई ‘चान्स’ कहिले दिने त?

(डा. मिश्र स्विस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजी ज्युरिख, स्विजरल्यान्डमा कार्यरत क्यान्सर वैज्ञानिक हुन् भने डा. पाण्डे एमआइटी – म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी, अमेरिकामा कार्यरत वरिष्ठ बायो इन्जिनियर वैज्ञानिक हुन्।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here