म जवाफ पर्खिरहेछु

0
80


रामकृष्ण भण्डारी कविता

दुई मुठ्ठी अन्न नभएपछि

चुलो बाल्न नसकेर

भोकसँग लड्दा लड्दै

मलर सदा आफैं छटपटिएर मर्नुपर्‍यो

अब भन

तिम्रो भकारीको के काम ?

……

मन मिलेपछि प्रिया लिन जाँदा

जात नमिलेको बहानामा नवराज विकले

ढुंगाले हानी–हानी

लखेटिएर मारिनुपर्‍यो

अब भन योभन्दा बर्वरता के हुन सक्छ?

…….

एउटा भविष्य जन्माउन खोज्दा खोज्दै

सुत्केरी ब्यथाले गलेकी गंगा कार्कीले

अस्पतालहरूको फन्को मार्दामार्दै

भेन्टिलेटर नपाएरै प्राण त्याग्नुपर्‍यो

के, उनलाई उज्यालो देख्ने अधिकार थिएन ?

यतिमा मात्रै समय कहाँ रोकिन्छ र

आफ्नो आँगन खोज्दै मुग्लानबाट

पैतालामा पहाड बोकेर आउनेहरूले

पानी समेत नपाएर

क्वारेन्टिन मै मृत्युवरण गर्नुपर्छ यहाँ

हातमा नाम्लो छोपेर काम खोज्न

भौतारिँदा–भौतारिँदै

सूर्यबहादुर तामाङहरूले

सडकपेटी मै जीवनलीला त्याग्नुपर्छ यहाँ

…..

अब भन मलाई

के, सिंगो देश हुने–खानेको मात्रै हो ?

कि निर्धाहरूलाई बाँच्ने हक छैन ?

यस्तै हुन्छ २१ औं शदीको मानवीयता ?

कैले दिन्छौ यसको उत्तर

म जवाफ पर्खिरहेछु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here