मुस्लिम समुदायले ईद मनाउँदै

ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

0
86

१२ जेठ । मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदै छन् । हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । फरक–फरक भूगोल विशेषमा ईदको दिन विगतदेखि नै फरक पर्दै आएको छ । तोकिएका क्षेत्रका मुख्य मौलाना (धर्माधिकारी)ले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट ईद मनाउन आह्वान गरेपछि पर्व मनाइने हुँदा कहिलेकहीँ फरक–फरक क्षेत्रमा दिन फरक पर्ने गरेको छ । ईद पर्वमा अल्लाह (भगवान्) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । यता राष्ट्रपति विद्यादेवी भण्डारीले इद उल फित्रले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने बताउनुभएको छ ।

इस्लाम धर्मावलम्बीले मनाउँदै आएको महान् पर्वका अवसरमा उहाँले आज शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्नुभएको छ । इदुलफित्रको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन आग्रह गर्नुभएको छ । रमदानको रोजा पूरा गरी इद उल फित्र मनाइरहनु भएका इस्लाम समुदायका सम्पूर्ण दिदीबहिनीलाई शुभकामना दिँदै उहाँले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताको मौलिक पहिचान भएको ताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here