बैशाक १९ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज संघीय समितिको भर्चुअल बैठकले पत्रकार निष्काशन तथा तलब कटौती नगर्न माग गरेको छ। बिहीबार संगठनका अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस ९कोभिड १९ संक्रमणको जोखिममा पत्रकार निष्काशन गर्ने र बेतलबी बस्न सञ्चारगृहले आग्रह गरेको भन्ने पत्रकारको आवाजलाई मध्यनजर गर्दै फोनिजले यस्तो नगर्न आग्रह गरेको हो। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट नेपालका पत्रकारहरु र सञ्चार गृहहरु पनि प्रभावित भएकाले सो सम्बन्धमा सरकार र सञ्चारगृहलाई त्यसतर्फ ध्यानाकर्षण गराउने निर्णय गरिएको छ। बैठकले सबै प्रकारका सञ्चारगृहका लागि विशेष प्याकेज ल्याउन सबै तहका सरकारलाई आग्रह गर्ने निर्णय गरिएको संगठन सचिव मिलन लिम्बूले बताए। कठिन अवस्थामा समाचार संकलनका लागि पत्रकारका लागि आवश्यक सामग्री उपलब्ध गराउन सम्बन्धित सञ्चारगृहलाई आग्रह गर्ने निर्णय गरेको छ। त्यस्तै यो संकटलाई देखाएर कुनै पनि पत्रकारलाई निष्कासन र तलब कटौती नगर्न सबै सञ्चार गृहलाई आग्रह गरिएको छ। बैठकले सम्बन्धित सञ्चारगृहले उपलब्ध गराएको परिचय–पत्रको आधारमा निर्बाध रुपमा समाचार संकलन गर्न दिन सम्बन्धित निकायसँग आग्रह गरिएको र संकटको घडीमा कार्य क्षेत्रमा खट्दा उच्च सावधानी अपनाउन सम्पूर्ण पत्रकारहरूलाई अनुरोध गरिएको लिम्बूले बताए। बैठकले विश्वका विभिन्न देशमा कोरोना भाइरसबाट संक्रमित भइ ज्यान गुमाएका नेपालीहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नेपाल लगायत विश्वका विभिन्न देशमा कोरोनाबाट संक्रमित नेपालीहरुको स्वास्थ्य लाभको कामना समेत गरेको छ।