विद्युत खपत घटेपछि एक महिनामै २ अर्ब गुमाउँदै प्राधिकरण

0
86

२६ चैत । कोरोनाको प्रकोप फैलिन नदिन सरकारले देशव्यापी लकडाउन गरेसँगै विद्युत खपतमा उच्च दरले गिरावट आइरहेको छ। यो गिरावटले नेपाल विद्युत प्राधिकरणको मासिक आम्दानी पनि घटाउने निश्चित भएको छ ।

प्राधिकरणले सामान्य अवस्थामा दैनिक औसत २० हजार मेगावाटआवर विजुली वितरण गर्छ । तर, लकडाउनपछि विजुलीको खपत १४ हजार मेगावाट आवरमा झरेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । यसअनुसार प्राधिकरणले एक महिनामै करिब दुई अर्ब रुपैयाँ आम्दानी गुमाउने छ ।

दैनिक करिब छ हजार मेगावाट आवर विजुली खपत घट्दा प्राधिकरणलाई पनि धक्का लागेको प्रवक्ता अधिकारी बताउँछन्। उनका अनुसार विद्युत् खपत गर्ने कलकारखाना, होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द भएपछि विद्युतको माग ह्वात्तै घटेको हो ।

विद्युत् लोडमा खासगरी कलकारखाना, होटल लगायतको योगदान हुन्छ । घरायसी प्रयोजनका लागि मात्रै विद्युतको प्रयोग भइरहेकाले अहिले विद्युतको लोड न्यून छ ।

घटेको माग र उपभोग

लकडाउन सुरु हुनुभन्दा पहिले मुलुकभर साँझको समयमा हुने विद्युतको अधिकतम माग (पिक डिमाण्ड) एक हजार दुई सय मेगावाटको हाराहारीमा थियो । यो अहिले घटेर नौ सय ४४ मेगावाटमा आइपुगेको छ । यस्तो पिक डिमान्ड साँझ ६ बजेदेखि ८ बजेका बीचमा हुन्छ ।

अहिले रातिको समयमा विजुलीको माग चार सय ५० मेगावाटको हाराहारीमा मात्रै छ । पछिल्ला दिनमा प्रणालीमा सबैभन्दा कम लोडको रेकर्ड चार सय ३५ मेगावाटसम्म छ ।

अहिले पिक आवरमा आवश्यक नौ ४४ मेगावाट विजुलीमध्ये चार सय ४३ मेगावाट विजुली प्राधिकरणका विभिन्न आयोजनाबाट आपूर्ति गरिन्छ । पिकिङ आयोजना अर्थात् केही घण्टा पानी जम्मा गरेर चलाउन सकिने आयोजनाहरु पनि साँझको समयमा नै चलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here