छिनमै रिसाउने, छिनमै शान्त हुने

0
88

महिलाहरूको व्यवहारमा कहिलेकाहीँ असामान्य परिवर्तन आउँछ। छिनमै रिसाउने, छिनमै शान्त हुने।कहिले भावनात्मक रूपमा कमजोर हुने। कहिले जति खाए पनि नअघाउने, कहिले रूच्दै नरूच्ने। घरि पीरो, अमिलो स्वादको चाहना बढ्ने, घरि टाउको दुख्ने, कब्जियत वा पखाला लाग्ने र स–साना कुरामा झिझिने। के तपाईंहरूलाई यसको कारण थाहा छ? पुरूषको त कुरै छाडौं, कतिपय महिला पनि यसबाट अन्जान छन्। महिलाहरूको यस्तो असामान्य स्वभावको कारण पिएमएस, अर्थात् ‘प्रि–मेन्सट्रुअल सिन्ड्रम’ हुन सक्छ। यो भनेको रोग होइन, महिनावारीअघि हुने सामान्य प्राकृतिक परिवर्तन हो।

महिनावारी हुनुभन्दा एक वा दुई साताअघि देखिने शारीरिक र भावनात्मक परिवर्तनका लक्षणलाई ‘पिएमएस’ भनिन्छ।अनुहारमा दाग वा डन्डिफोर आउनु, थकाइ लाग्नु, निन्द्रा बिग्रिनु, शरीर दुख्नु, चिडचिडापन बढ्नु र मुड परिवर्तन हुनु महिनावारीअघिका सामान्य लक्षण हुन्। यी लक्षण हरेक महिलामा भिन्न हुन्छन्। सबैलाई हुन्छ भन्ने छैन, तर धेरैजसो महिलामा देखिन्छ। कसैमा सामान्य होला, कसैमा जटिल। प्रजनन् स्वास्थ्य विशेषज्ञ डा. निरा श्रेष्ठका अनुसार प्रायः यस्ता लक्षण महिनावारी हुनुअघिका ६ दिनमा देखिन्छन्। समयसँगै लक्षण परिवर्तन हुन सक्छन्।

पिएमएसको कारण के त?

यो प्रश्नको उत्तर आजसम्म निश्चित छैन। अनुसन्धानकर्ताहरूका अनुसार महिनावारी बेला महिलाको शरीरमा सेक्स हर्मोन र सेरोटोनिनको मात्रा घटबढ हुन्छ, जसले भावनात्मक र शारीरिक परिवर्तन हुने विश्वास छ।महिलाहरूमा हुने मुख्य सेक्स हर्मोन ‘एस्ट्रोजेन’ र ‘प्रोजेस्टेरोन’ हुन्। यी हर्मोन महिलाको अन्डाशयमा उत्पादन हुन्छन्, जसले प्रजनन् अंगको वृद्धिमा ठूलो भूमिका खेल्छ। महिनावारी बेला अन्डाशयमा एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन बढी उत्पादन हुन्छन्। यसले गर्भाशय बाक्लो बनाई शरीरलाई प्रजजन् निम्ति तयार गर्छ। अन्डाशयमा उत्पादन भएका अन्डाहरू उर्वर भएनन् भने एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनको मात्रा घट्छ। यसले रक्तस्राव अर्थात् महिनावारी सुरु हुन्छ।

यसको मतलब, एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन घट्नेबित्तिकै महिनावारी हुने होइन। हर्मोनको मात्रा घट्नु र महिनावारी हुनुबीच एउटा चरण आउँछ, जब महिलाको शरीरले अन्य समयभन्दा फरक तरिकाले काम गरिरहेको हुन्छ। त्यसैलाई पिएमएस भनिन्छ।

एस्ट्रोजेन हर्मोनको मात्रा घट्दा यसले ‘सेरोटोनिन’ को स्तरमा असर पार्छ। सेरोटोनिन भनेको मस्तिष्कमा हुने एक किसिमको रसायन हो, जसले मान्छेको मुड, सामाजिक व्यवहार, निन्द्रा, भोक, स्मृति, पाचनशक्ति र यौन चाहना नियन्त्रण गर्छ। त्यसैले, जब सेरोटोनिनको मात्रा असन्तुलित हुन्छ, महिलाहरूको भावनात्मक र शारीरिक व्यवहारमा नौलो परिवर्तन आउँछ। यही लक्ष्णलाई पिएमएस नाम दिइएको हो।

यो समयमा देखिने लक्षणहरू सामान्यदेखि गम्भीर प्रकृतिका हुन्छन्। केहीमा यस्ता लक्षणबिनै महिनावारी हुन्छ। केहीमा भने यसले नियमित गतिविधिमै असर पार्न सक्छ। यसबारे स्पष्ट ज्ञान भए कुनै पनि महिलाले त्यसका लक्षणसँग सजिलै सामना गर्न सक्छन्।

‘पिएमएसमा देखिने लक्षण प्रायः सामान्य नै हुन्छ, तर यसलाई हल्का रूपमा लिनु हुँदैन्,’ प्रजनन् स्वास्थ्य विशेषज्ञ डा. श्रेष्ठ भन्छिन्, ‘अवस्था गम्भीर भए डिप्रेसन र एन्जाइटी हुने समस्या बढ्छ। बान्ता आउने र चक्कर लाग्ने लक्षण पनि देखिने गर्छ।’

सामान्य लक्षणलाई व्यायाम र मानसिक स्वास्थ्य परामर्शदाताको सहयोगमा नियन्त्रण गर्न सकिन्छ। गम्भीर अवस्थामा भने नियमन गर्ने उपचार छैन। डा. श्रेष्ठका अनुसार त्यस्तो समय परिवार नियोजन चक्कीको सेवनले समस्या केही कम गर्छ। मानसिक तनावमा भने चिकित्सकको परामर्शमा औषधि खानुबाहेक अरू उपाय छैन।महिनावारीको विषय जति सामान्य देखिन्छ, त्यति नै संवेदनशील छ। हरेक महिलालाई महिनावारी हुनुअघिको पिएमएस र महिनावारी हुँदाको कठिनाइ सोच्दा पनि असहज हुन्छ। अझ गम्भीर लक्षणका भुक्तमानहरूलाई त झनै गाह्रो हुने उनी बताउँछिन्।

यस्तो कठिनाइ महिनावारी बेला मात्र हुँदैन। कहिलेकाहीँ महिनावारी रोकिएपछि पनि पिएमएसका लक्षण देखिन्छन्। सामान्यतया ५० वर्ष टेकेपछि ढिलोचाँडो महिनावारी बन्द हुन्छ। यसलाई ‘मेनोपज’ भनिन्छ। यो महिलाको जीवनमा आउने महत्वपूर्ण चरणमध्ये एक हो।

महिनावारी प्रक्रिया स्थायी रूपमा रोकिएपछि हरेक महिनाको झन्झटबाट मुक्ति पाइन्छ भन्ने लाग्ला, तर जसरी महिनावारीअघि पिएमएस हुन्छ, त्यसरी नै महिनावारी रोकिएपछि ‘पोस्ट-मेनोपज’ हुन्छ। पोस्ट-मेनोपजको कारण पनि पिएमएससँग मिल्दोजुल्दो छ।

मेनोपज हुने समयमा पनि ‘एस्ट्रोजेन’ र ‘प्रोजेस्टेरोन’ को मात्रा घट्छ, जसले महिलाको शरीर र व्यवहारमा विभिन्न परिवर्तन ल्याउँछ।पोस्ट-मेनोपजका लक्षण पिएमएसभन्दा केही फरक हुन्छन्। शरीर तात्तिने, धेरै पसिना आउने, निन्द्रा नलाग्ने, छाला, आँखा र मुख सुख्खा हुने सामान्य लक्षण हुन्।

भावनात्मक परिवर्तन, हाडजोर्नी दुख्ने, पिसाब रोकिने वा छिनछिनमा आइरहने लक्षण पनि देखिन्छन्। कसै-कसैमा ध्यान केन्द्रित गर्न नसक्ने वा समय–समयमा स्मरण क्षमता कमजोर हुने, मुटुको धड्कन बढ्ने, कपाल झर्ने र शरीरको तौल बढ्ने लक्षण पनि हुन्छन्।

यो समय महिलाहरूमा बिर्सने रोग (अलजाइमर) र स्तन क्यान्सरको सम्भावना बढ्ने प्रजनन् स्वास्थ्य विशेषज्ञ डा. श्रेष्ठ बताउँछिन्।‘अलजाइमर र स्तन क्यान्सरलाई लिएर डराइहाल्नुपर्दैन। मेनोपजमा देखिने केही लक्षण यी रोगसँग मिल्न खोज्छन्, तर त्यसैको कारणले हुन्छ भन्न मिल्दैन,’ श्रेष्ठले भनिन्, ‘मेनोपज ५० वर्ष कटेका अधिकांश महिलालाई हुन्छ, तर अलजाइमर र स्तन क्यान्सर जुनसुकै उमेरका व्यक्तिलाई हुनसक्छ।’ सेतोपाटी अनलाइन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here