पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा इलामको विजय सुरु

0
374

ताप्लेजुङ,साउन ३० गते । ताप्लेजुङमा आज (बिहिबार) देखि सुरुभएको चौथो पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा रेडहर्स क्लब,इलामले विजय सुरुवात गरेको छ । घरेलु टोली पोमू केछाङ स्पोर्टिङ क्लब ताप्लेजुङलाई ३—० गोलले पराजित गरेको हो । सदरमुकाम फुङलिङस्थित भानुजन माविको मैदानमा भएको खेलमा इलामका लागि विदेशी खेलाडी फोफोनाले दुई र पाशाङ शेर्पाले एक गोल गरे ।
तीन वटै गोल पहिलो हाफमा भएको थियो । शेर्पाले साँतौं र फोफोनाले १७ तथा २६ मिनेटमा गोल गरेका थिए । फोफोना म्यान आफ दि म्याच भए । सेमिफाइनल प्रवेशका लागि इलामले शनिबार फिदिम स्पोर्टिङ क्लव पाँचथरसँग खेल्नेछ । नेपालका ८ र भारतका २ टिमले भाग लिएका छन् । भोली आयोजक ताप्लेजुङ ११ र बेलबारी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका लागि १५ हजार दर्शक क्षमताको प्यारापिट बनाइएको छ । गत वर्षभन्दा यो वर्ष तीन हजार बढी अट्ने गरी व्यवस्थापन मिलाइएको आयोजक समिति अध्यक्ष नारायण थापाले बताउनुभयो ।
खेलअघि भएको उद्घाटन समारोहमा लाखे नाच, धान नाच, केलाङसहितका झाँकी र नृत्य प्रस्तुत गरिएको थियो । जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले प्रतियोगिताको उद्घाटन गरे । विजेताले ५ केजी चाँदीमा ३ तोला सुनजडित कपसहित नगद ३ लाख ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेताको भागमा १ लाख ५१ हजार पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here