साउन ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध आफू निर्मम तरिकाले प्रस्तुत हुने बताएका छन् ।बुधबार आफ्नै सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रकम जम्मा गर्न पुगेको केडिया ग्रुप र निजमती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँग कुरा गर्दै उनले भ्रष्टाचार र अनियमितता गर्ने जोसुकैलाई कानुनी दायरमा ल्याउने प्रतिबद्धता दोहोर्याए । सरकार सुशासन र विकासप्रति समर्पित भएको भन्दै प्रधानमन्त्री ओलीले प्रशासन संयन्त्रलाई स्वच्छ र पारदर्शी बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताए । उनले मुलुकको हात–खुट्टा भनेकै कर्मचारी भएकाले कर्मचारीको सहयोगविना भ्रष्टाचार अन्त्य गर्न नसकिने बताए ।
आन्दोलनको युग समाप्त भएको भन्दै प्रधानमन्त्री ओलीले आन्दोलनकारीका जायज मागलाई सम्बोधन गरिने बताए ।बहुसंख्यक जनताले अंगिकार गरेको शासन प्रणालीअनुसार सरकार लोकतान्त्रिक बाटोमा अगाडि बढेको भन्दै उनले सबैको चित्त बुझाउन नसकिने प्रस्ट पारे ।