गाउँपालिकाले नमानेपछि ताप्लेजुङमा युवा आफैंले पहिरो पन्छाएर सडक खुलाए

0
2041


पाथीभरा पोष्ट ।
अविरल वर्षाका कारण अवरुद्ध ताप्लेजुङको खहरे–पूर्णडाँडा सडक सञ्चालनमा आएको छ । पाथीभरा याङवरक गाउँपालिकाबाट ताप्लेजुङ सदरमुकाम फुङलिङ र पाँचथर जोड्ने सडक शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको स्थानीय युवा दिपेश मेन्याङ्वोले बताए ।

मौसममा सुधार आएपछि दिनभरी स्काभेटर मेसिन लगाएर सडक सञ्चालनमा ल्याइएको हो । आफ्नै खर्चले मेसिनको प्रयोग गरेर सडक खुलाएको मेन्याङ्कोको भनाई छ । ‘अवरुद्ध भएको चार दिन सम्म पनि गाउँपालिकाले बाटो खुलाउन चासो देखाएन,’ उनले भने, ‘त्यसपछि आफ्ने खर्चमा मेसिन लगाएको हुँ ।’

मेचि राजमार्गको खहरे हुँदै पाथिभरा याङ्वरक गाउँपालिकाको केन्द्र थेचम्बू जोड्ने पाथिभरा पर्यटन मार्ग पहिरो खसेर चार दिनदेखि अवरुद्ध थियो । करिव १० घण्टा जेसिविको माध्यमवाट बाटोमा खसेको पहिरो पन्छाएको मेन्याङवोले बताए ।

खसेको पहिरो पन्छाउनको लागि गाउँपालिकालाई आग्रह गरेपनि गाउँपालिकाले बैकल्पीक मार्ग मात्र सुचारु गरेको र मुख्य मार्गलाई वेवास्ता गरेको मेन्याङ्वोको आरोप छ ।

गाउँपालिका अध्यक्ष केशर मेन्याङ्वोले भने उक्त सडक तत्काल खुलाउन सम्भव नदेखिएपछि वैकल्पिक मार्ग प्रयोग गरेको बताए । ‘म आफुँ नै प्रहरी सहित पहिरो खसेको स्थानमा गएको थिए, त्यहाँ बढी जोखिम थियो,’ अध्यक्ष मेन्याङ्वोले भने,‘ त्यसैले मौसममा सुधार आएपछि पन्छाउने योजनामा थियौं, युवाहरुले पन्छाउनुभएछ, धन्यावाद ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here