
मधुर वचन बोली मन् लिँदा क्या सुरा छन् । (आदिकवि भानुभक्त आचार्य)
पछिल्लो समय बालाजु बाइसधारा उद्यानमा युवाको आकर्षण बढ्न थालेको छ । काठमाडौँ महानगरपालिका, –१६ स्थित उत्तर –पश्चिम नागार्जुन पहाडको फेदीमा अवस्थित बालाजु बाइसधारा उद्यानमा दैनिक तीन सयको हाराहारीमा युवा अवलोकनका लागि आउने गर्छन् । कार्यालय प्रमुख निरञ्जनविक्रम बस्नेतले विशेष पर्व र बिदाको दिन आउने अवलोकनकर्ता अत्यधिक रहेको बताए ।
उनका अनुसार अव्यवस्थित शहरीकरणको कारण स्वच्छ, सफा र खुला स्थानको अभाव खड्किरहेका अवस्थामा बाइसधारा उद्यानले युवाको मन जित्न सफल भएको छ । उद्यानमा माया साट्न आउने मायालु युवा जोडीको आगमनले थप सौन्दर्य थपेको छ । ‘यहाँको स्वच्छ, सफा वातावरणले थाकेको मनलाई पनि आनन्दित बनाउने छ’ माछापोखरीबाट घुम्न आएका ज्योति तामाङले भने ।
त्यस्तै नागार्जुनबाट आएका अनिल थापा उद्यानले युवा पुस्तालाई मनोरञ्जन दिने काम गरेको बताउँछन् । ‘यहाँको बगैँचा, हरियाली र नीलकाँडा तथा थरिथरी फूलको सुगन्धले सारा दुःख नै भुल्छु’ उनले भने ।
बालाजु बाइसधारा उत्तरमा बाइपास, दक्षिणमा बालाजु औद्योगिक क्षेत्र र बोहोराटार, पूर्वतर्फ बालाजुकै स्थानीय बस्तीभित्रको करीब १६२ रोपनी क्षेत्रफलमा फैलिएको एैतिहासिक, सांस्कृतिक, धार्मिक र मनोरञ्जनको दृष्टिले एउटा महत्वपूर्ण स्थल हो ।
विसं २०१८ जेठ २७ गते शिलान्यास भई २०२१ साल जेठ २७ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको सो उद्यान समयअनुसार महेन्द्र उद्यान, बालाजु पार्क, वाटरगार्डेन हुँदै हाल बाइधारा उद्यानका नामले परिचित छ । राजा प्रताप मल्लले सन् १६६० मा सानो बाल बूढानीलकण्ठ स्थापना गरेपछि जसको नामबाट सो स्थानको नाम बालाजु रहन गएको बताइन्छ ।
राजा जयप्रकाश मल्लले आफ्नो शासनकालमा सन् १७३६ मा सो क्षेत्र जताततै पानीले जलमग्न भएको कारणले गर्दा पोखरी निर्माण गरी उक्त पोखरीबाट आएको पानीलाई निकासका रुपमा हात्तीको मुखाङ्कित २१ ढुङ्गेधारा निर्माण गरेका थिए । त्यसको केही वर्षपछि राजा रणबहादुर शाहले २१ धाराका बीचमा एउटा अरु ठूलो धारा थपी बाइस धारा पुर्याएका थिए । त्यसपछि सो स्थलको नाम बालाजु बाइसधारा रहन गएको हो ।